नेपाल पर्वतारोहण सङ्घले सातै महादेशका अग्ला हिमाल आरोही सुस्मिता मास्केलाई आज रु चार लाख पुरस्कार प्रदान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले मास्केलाई पुरस्कार प्रदान गर्दै कलिलो उमेरकी मास्केले गरेको साहसिक कार्यले मुलुकलाई संसारको उच्च स्थानमा पहिचान बढाएको र उहाँलाई राष्ट्रियस्तरबाट पनि सम्मान गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन सचिव सुरेशमान श्रेष्ठले मास्केले सातै महादेशका अग्ला हिमाल आरोहण गरी नेपालको मानचित्रलाई विश्वमा चिनाएको भन्दै उहाँको सो कार्यले नेपालको सुन्दरतालाई विश्वमा प्रचार गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।पर्यटन व्यवसायी लक्की शेर्पाले सो कार्यले नेपाली महिलाको मात्र नभएर विश्वका महिलाको शिर उँचो बनाएको र सम्पूर्ण नेपालीले यस विषयमा गौरव गर्नुपर्ने बताउनुभयो ।
आरोही मास्केले कुनै पनि हिमालको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउँदा आफूले त्यस क्षेत्रमा पाएको दुःख बिर्सने गरेको र सो सम्मानले देश विकासमा थप हौसला मिलेको बताउनुभयो ।पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले उहाँले गरेको कार्यले पर्वतारोहणको क्षेत्रमा नयाँ आयाम थप्ने बताउनुभयो । रासस