प्रहरी कार्यालय शौचालय विहिन, आइजिपीलाई सवा दुई करोडको नयाँ गाडी

प्रहरी कार्यालय शौचालय विहिन, आइजिपीलाई सवा दुई करोडको नयाँ गाडी
समाज

प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ । आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन् । तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए । आजको नयाँ पत्रिकामा खवर छ।

अस्थायीबाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् जसमध्ये आठ सय ५० कार्यालयमा शौचालय छैन । यी कार्यालयमा हजारौँ प्रहरी ड्युटी गरिरहेका छन् । तर, जम्मा ८९ कार्यालयमा शौचालय निर्माणाधीन छन् । प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा तीन सय ९६ प्रहरी कार्यालय छन् । तीमध्ये एक सय ३५ मा शौचालय छैन । २६ कार्यालयमा भने निर्माण भइरहेको छ । त्यस्तै, प्रदेश २ का तीन सय ३२ प्रहरी इकाइमध्ये एक सय सातमा शौचालय छैन । यो प्रदेशका जम्मा ६ कार्यालयमा शौचालय निर्माण भइरहेको छ ।

प्रदेश ३ मा प्रहरीका दुई सय ५३ कार्यालय छन् । तीमध्ये एक सय ३७ मा शौचालय छैनन्, ३२ मा भने निर्माण भइरहेको छ । गण्डकी प्रदेशमा दुई सय १७ कार्यालयमध्ये एक सय २५ मा शौचालय छैनन् । त्यहाँका जम्मा दुई कार्यालयमा शौचालय निर्माणका लागि बजेट पठाइएको छ ।

प्रदेश ५ का तीन सय ४१ प्रहरी कार्यालयमध्ये एक सयमा शौचालय छैनन् । १२ कार्यालयमा भने निर्माणधीन अवस्थामा छन् । कर्णाली प्रदेशमा झन् बिजोग छ । त्यहाँ रहेका एक सय ६० मध्ये जम्मा ५८ कार्यालयमा शौचालय छन्, एक सय एकमा छैनन् । एक कार्यालयमा भने निर्माण हुँदै छ । सुदूरपश्चिम प्रदेशमा प्रहरीका एक सय ९१ कार्यालय छन् । तीमध्ये एक सयमा शौचालय छैन भने तीनमा निर्माण भइरहेको छ ।

उपत्यकामै ४५ प्रहरी कार्यालय शौचालयविहीन छन् । सात स्थानमा मात्रै हेडक्वार्टरले निर्माणका लागि बजेट निकासा गरेको छ । उपत्यकामा एक सय ३५ प्रहरी इकाइ छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सबै प्रहरी कार्यालयहरूमा शौचालय निर्माणका लागि सरकारसँग बजेट माग भइरहेको बताए । प्रतिशौचालय ७ लाखका दरले बजेट माग गरिएको उनले बताए ।

Post Comment