मालढुङ्गामा बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

मालढुङ्गामा बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते
समाज

म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबार दुर्घटना हुँदा घाइतेलाई उद्धार गरी बागलुङको धौलागिरि अञ्चल अस्पतालमा लगिँदै । तस्वीर ः सुवास गौतम

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग१ख ६१०८ नंको बस दुर्घटना हुँदा मृत्यु भएका सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिनुभएको छ ।

Post Comment