फलेवास (पर्वत), १३ पुस । निर्माण सुरु भएको तेह्र वर्षपछि यहाँको एक विकट गाउँमा पुग्ने सडकको निर्माणकार्य सम्पन्न भएको छ । पर्वतको माझफाँटको बगर गौरेटे हुँदै बाँसखर्क पुग्ने ग्रामीण सडकको निर्माण सम्पन्न भई सवारी साधन चल्न थालेका हुन् । उक्त सडकको उद्घाटन शनिबार बाँसखर्कमा गरिएको हो ।
सडक निर्माण समितिले बाँसखर्कमा आयोजना गरेको कार्यक्रममा सडकको उद्घाटन गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले ढिलै भए पनि बाँसखर्क जोड्ने छोटो सडक निर्माण हुनु सुखद भएको बताउनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सडकको उपयोग गरेर आयआर्जनमा अग्रसर हुन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।मिलनचोक मल्लाज हुँदै बाँसखर्क जोड्ने १३ किलोमिटर सडक घुमाउरो र असजिलो भएपछि सुन्तला उत्पादनका दृष्टिले प्रसिद्ध बाँसखर्कका बासिन्दाको अग्रसरतामा निर्माण भएको चार किलोमिटर बगर–बाँसखर्क सडकको यात्रा डेढ घन्टाबाट ३० मिनेटमा छोटिएको छ ।
सडक निर्माण समितिका आर्थिक संयोजक ख्यामबहादुर खत्रीका अनुसार सडकको निर्माण कार्यमा हालसम्म सरकारको रु १२ लाख, स्थानीयवासीको रु नौ लाख नौ हजार ३५० र रु छ लाख ऋण गरी रु २७ लाखको लगानी भएको छ । रासस