देशभर गर्मीले जनजीवन प्रभावित, तराईको तापक्रम ४३ डिग्री नाघ्यो

देशभर गर्मीले जनजीवन प्रभावित, तराईको तापक्रम ४३ डिग्री नाघ्यो
समाज

केही दिनयता देशभर बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।

चर्को घाम र उच्च तापमानका कारण तराईका जिल्लाको जनजीवन अझ बढी प्रभावित बनेको छ ।

दिनभर चर्को घाम लाग्दा दिउँसो मानिसको चहलपहलसमेत घटेको छ । बजार सुनसानजस्ता देखिएका छन् ।

विभिन्न जिल्लामा अधिकतम् तापक्रम ४३ डिग्री नाघेको छ । शनिबार नेपालगन्ज र दिपायलको अधिकतम् तापक्रम ४३ डिग्री तथा भैरहवाको अधिकतम् तापक्रम ४३.३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाडौंको अधिकतम् तापक्रम ३३ डिग्री र न्यूनतम् तापक्रम १९.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

काठमाडौंको अधिकतम् तापक्रम शुक्रबार यो वर्षकै उच्च ३३.५ डिग्री मापन भएको थियो ।

काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम मापन भने सन् १९८९ मे ७ तारिखका दिन भएको थियो । त्यो दिन काठमाडौंको अधिकतम् तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले इमेजखबरलाई जानकारी दिइन् ।

बढ्दो गर्मीसँगै चल्ने तातो हावाका कारण अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ । गर्मीका कारण बालबालिका, वृद्धवृद्धा र मजदुर बढी प्रभावित भएका हुन् ।

गर्मी बढेसँगै श्वास–प्रश्वासमा समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्यासमेत देखिन थालेको छ ।

गर्मीबाट बच्न पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला घरबाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् ।

अनियमित विद्युत् कटौतीको मार

प्रचन्ड गर्मी हुँदा सर्लाहीका नागरिक भने अनियमित विद्युत् कटौतीको मारमा परेका छन् ।

विद्युत् प्राधिकरणले गर्मीयाममा विद्युतीय उपकरण धेरै चल्ने भएकाले भार थाम्न नसकेर विद्युत् प्रवाहमा समस्या देखिएको जनाएको छ ।

गर्मीसँगै पर्याप्त पानी नपर्दा किसान पनि पिरोलिएका छन् । सर्लाहीको उत्तरी चुरे भेगमा पानी परिरहे पनि लालबन्दी, हरिवन, वाग्मतीसहित पूर्व–पश्चिम राजमार्ग क्षेत्र र सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा धेरै दिनदेखि ठूलो पानी परेको छैन ।

Post Comment