स्वास्थ्यमन्त्रीको निर्देशन : चिकित्सकहरु तोकिएको कार्य क्षेत्रमा जानुस्

स्वास्थ्यमन्त्रीको निर्देशन : चिकित्सकहरु तोकिएको कार्य क्षेत्रमा जानुस्
स्वास्थ्य

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले तोकिएको कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

उपप्रधानमन्त्री यादवले काठमाडौं बाहिरका अस्पतालहरुमा खटाइएका चिकित्सकहरु कार्य क्षेत्रमा नजाने गरेको उल्लेख गर्दै सबैलाई आ–आफ्नो कार्य क्षेत्रमा जान सचेत गराएका हुन्। उनले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न पनि निर्देशन दिए। वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आइरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराएका हुन्।

वीर अस्पतालको १ सय २९औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर स्वास्थ्य क्षेत्रको विकासमा लागि पर्न मातहतका निकायलाई सचेत गराए। उनले वीर अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए।

मुलुकको सबैभन्दा जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालले सर्वसाधारणको थप उपचारका लागि छाती, बाथ रोग तथा हेमाटोलोजीसम्बन्धि विशेषज्ञ सेवा पनि सुरु गरेको छ। अस्पतालले ६ सय बेडको अत्याधुनिक भवन निर्माणको कामलाई तीव्रता दिएको पनि अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए।

अस्पतालले इमर्जेन्सी सेवालाई पेपरलेस बनाउने प्रक्रियालाई पनि अघि बढाइएको दावी गरेको छ।

Post Comment