डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र सिम्पल मिडिया नेटवर्क प्रालि (सिम टिभि) को सञ्चालक समितिको संयुक्त बैठकले ‘सिम टिभि’ डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरी खरिद सम्झौता सम्पन्न गरेको छ ।
खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुनेछ । सिम टिभिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले आजैका मितिबाट लिने भएको छ । सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको उक्त क्षेत्रको सबैभन्दा सफल र ठूलो कम्पनी हो ।
कम्पनी २०७४ असार १८ गतेबाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ । निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा रहेको जनाइएको छ ।
सिम टिभि नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो । सिम टिभिका प्रमुख कार्यकारी अधिकृत ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टिभिको खरिदपछि टिभि हेराइको गुणस्तरीय अनुभव अझ धेरै ग्राहक तथा आवद्ध स्थानीय केवल अपरेटरको पहुँचमा पुग्ने बताएका छन् ।
नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण प्रविधियुक्त र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।