अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ।
‘इनसाइट’ नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघन्टा २० हजार किलोमिटरसम्मको गतिमा अघि बढेको थियो।
सो रोबोट जडित यानको सहायताले मंगल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मंगल ग्रह, पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ।
‘इनसाइट’ रोबोट ग्रेनिच समयानुसार १९:५३ मा रातो ग्रहमा ओर्लिएको थियो। त्यो सफलताले चिन्ताजनक प्रतीक्षाको अन्त्य गराएको थियो जसमा रोबोटले जानकारीहरू श्रंखलाबद्ध रूपमा वैज्ञानिकहरुलाई प्रसारण गरिरहेको थियो।