काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले ठूलो आलोचना व्यहोरेर चीनबाट जहाज ल्याउने निर्णय गरिएको भन्दै अब कुनै पनि पक्षले गुनासो गर्ने मौका दिन नहुने बताएका छन् । नेपाल र चीन सरकारबीच सम्झौता भएको करिब ६ वर्षसम्म जहाज ल्याउन नसक्नुमा नेपालको आन्तरिक कारण दोषी रहेको भन्दै उनले यस्ता गतिविधिले नेपाल सरकारकै असफलता देखिने उल्लेख गरे ।
अर्कोतर्फ चीनबाट नेपाललाई दिइएका जहाजमा महँगो बिमा, स्पेयर्स पाट्र्सको अभाव, स्पष्ट अंग्रेजी बोल्ने प्रशिक्षक पाइलट नहुनुजस्ता समस्या रहेको भन्दै अब यी गतिविधि नदोहोरिने ग्यारेन्टी चिनियाँ सरकार र जहाज निर्माता कम्पनीले गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपाल कठिन भौगोलिक अवस्थिति भएका मुलुकमध्ये एक हो,’ बुधबार चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनलले नेपाल वायुसेवा निगमलाई जहाज हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री शाहीले भने, ‘नेपालमा तपार्इंहरूले उत्पादन गरेका जहाजको सफल सञ्चालनको ग्यारेन्टी गर्नुहोस्, यी जहाजको विश्वभर माग बढ्नेछ ।’
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालको हवाई क्षमता अभिवृद्धिमा चीनमा निर्मित जहाजले सहयोग पुर्याउने उल्लेख गरिन् । चीनले छिमेकी मुलुकहरूसँग असल सम्बन्ध स्थापित गर्न चाहेको भन्दै हवाई क्षमता अभिवृद्धि कार्यक्रम पनि त्यसको एक पाटो रहेको उनको भनाइ छ ।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले यसअघि जहाजमा देखिएको प्राविधिक तथा सञ्चालनमा देखिएका समस्या हटाउने निश्चित भएपछि थप जहाज ल्याइएको जानकारी दिए । यसअघि चीनबाट अनुदानमा ल्याइएका दुई जहाज एमए६० र वाई १२ ग्राउन्डेड हुँदा स्पेयर्स पाट्र्स अभावमा लामो समय थन्क्याउनुपरेको थियो । कंशाकारका अनुसार निगमका लागि चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधासम्पन्न ह्यांगर (जहाज मर्मत गर्ने केन्द्र) खोलिदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
एभिक इन्टरनेसनलले ५६ सिट क्षमताको एमए६० र १७ सिट क्षमताको वाई१२ई गरी दुई जहाज नेवानिलाई हस्तान्तरण गरेको छ । यी दुई जहाज खरिद गर्न चीन सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
सहुलियतपूर्ण ऋणमा नेवानिले कुल ४ जहाज खरिद गरेको छ । त्यसमध्ये अझै दुईवटा वाई१२ई जहाज नेपाल ल्याउन बाँकी छ । निगमले चीनबाट अनुदानमा प्राप्त दुई जहाज एम६० र वाई१२ अहिले सेवामा लगाइरहेको छ । थप दुई जहाज पनि ल्याइसकेपछि आन्तरिकतर्फ निगमको जहाज संख्या ९ पुग्ने निगमका महाप्रबन्धक कंशाकारले जानकारी दिए ।
आजको नयाँ पत्रिकामा खबर छ ।