दमौली । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन तनहुँद्वारा दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री निधिले सो कुरा बताउनुभएको हो । पछिल्ला दिनमा प्रमुख प्रतिपक्षी एमाले पनि लचक भइसकेकाले मधेसी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन पास हुने दाबी उहाँको छ । अब हुने तीनै तहको निर्वाचन गर्न वर्तमान सरकार सक्षम रहेको मन्त्री निधिले बताउनुभयो ।
सरकार एकपछि अर्को निर्वाचन घोषणा गर्ने तयारीमा रहेकाले सुरक्षा व्यवस्था कडा बनाउन आफूले निर्देशन दिइसकेको गृहमन्त्री निधिले बताउनुभयो । स्थानीय तह, प्रदेशसभा र संसद्को निर्वाचन गर्ने तयारीमा सरकारअघि बढिरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसअनुसार सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु, उहाँले भन्नुभयो ।
त्रिभुवन विमानस्थलमा सुन फेला परेको विषयमा राखिएको जिज्ञासामा मन्त्री निधिले त्यसमा साङ्गठनिक अपराधीको हात हुन सक्ने अनुसन्धानले देखाएको बताउनुभयो ।
आजै उपप्रधानमन्त्री विमलेन्द्र निधिले तनहुँका काँग्रेस कार्यकर्तासँग भेटघाट गरी चुनावका लागि अगाडि बढ्न निर्देशनसमेत दिनुभयो