सिके राउतलाई अदालत लगियो, प्रहरीथप परिचालन गर्दै सुरक्षा व्यबस्थामा कडाई !

समाचार

सिरहा। देश विखण्डन गर्ने योजना बनाएको आरोपमा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई आज जिल्ला अदालत सिरहामा पेश गरिने भएको छ ।

विहिवार जनकपुर नपा ३ माछा बजार नजिकै रहेको डेराबाट डा. राउतलाई सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै राउतलाई ईलाका प्रहरी कार्यालय लहान ल्याइयो । र, आज विहान ११ बजेतिर राउतलाई ईप्रका लहानले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ ।

डा. राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । उनले भने, ‘जिल्ला अदालतबाट सात दिनको म्याद लिएर राउतमाथि संगठित अपराध ऐन २०७० अनुसार कारबाही प्रक्रिया अगाडी बढाउँछौं ।’

नेपालबाट मधेस अलग गरी मधेस देश बनाउने अभियान चलाएको आरोपमा प्रहरीले डा. राउतलाई पटक पटक पक्रदै र छाड्दै आएको छ । सुरुमा उनीमाथि चलाएको राज्य विप्लव मुद्दामा विशेष अदालत र सर्वोच्चबाट सफाइ पाइसकेका छन् भने एउटा मुद्दा विशेष अदालतमा चलिरहेकै छ ।

पछिल्लो समय डा. राउतले माघ ५ गते लहानमा गरेको बलिदानी दिवसको अवसरमा गरेको सम्बोधनमा ‘नेपालबाट टुक्राएर मधेस अलग देश बनाउनुपर्छ’ भनेका थिए । जुन सभामा करिब १० हजार मधेसी जनताको उपस्थित थिए ।

यता, डा. राउत पक्राउको विरोधमा हुनसक्ने जुलुस प्रदर्शनको मध्यनजर गर्दै लहानमा सुरक्षाकर्मीको संख्या बढाएको छ । गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायको कमाण्डमा सुरक्षाकर्मी थपिएको हो ।

लहानका डिएसपी केसी भने राउतलाई लिएर आफै म्याद थप गराउन जिल्ला अदालत सिरहा पुगेका छन् । लहानको विभिन्न ठाउँमा र ईप्रका अगाडी सुरक्षाकर्मीको उपस्थिति विहानैदेखि बाक्लो पारिएको देखिन्छ ।

Post Comment