काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खुलेआम देश टुक्राउँछु भन्ने सीके राउतलाई कुनै हालतमा छोड्न नसकिने बताएका छन् ।
शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको अन्तरवार्तामा प्रधानमन्त्री दाहालले देश टुक्र्याउँछु भन्नेलाई राज्यले कदापि नछाड्ने बताएका हुन् । दाहालले भने, ‘सीके राउतको सन्दर्भमा सरकार गम्भीर रुपमा लागेको छ । खुलेआम देश टुक्राउँछु भन्नेलाई दुनियाँको कुन सरकारले छुट दिएको छ ? यो सम्भव छैन । हाम्रो राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुरा अरु छैन । देशलाई बिखण्डन गर्छु भन्नेलाई कुनै हालतमा छुट दिन सकिँदैन । अघिल्लो सरकारको गल्तीका कारण नै यस्तो प्रवृत्तिले टाउको उठाएको हो । यसपटक गम्भीर रुपमा सोचेर र सबैसँग राय लिएर यो कदम चालिएको हो । देश टुक्राउँछु भन्नेलाई छुट दिइन्छ भने त्यो राज्य हुनै सक्दैन । यो निकै सम्वेदनशील सवाल हो । यसमा सरकार हट्दैन, कडा रुपमा अघि बढ्छ । यसमा सरकारले सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।’