काठमाण्डौं । नेपाल प्रहरीको आईजीपी कसलाई बनाउने भन्ने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच विवाद उत्पन्न भएपछि आज बस्ने बनेको मन्त्रिपरिषदको बैठक एकाएक स्थगित् भएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सत्ता कांग्रेस सभापति देउवाले नेपाल प्रहरीको २५ औं आईजीपीमा आफूले अघि सारेका जयबहादुर चन्दलाई नै बनाउनुपर्ने अडान लिएपछि आज बस्ने मन्त्रिपरिषद बैठक प्रभावित बन्न पुगेको हो। तर प्रधानमन्त्री भने वरियताक्रममा एक नम्बरमा रहेका डिआईजी नवराज सिलवाललाई नै आईजीपी बनाउनुपर्ने अडानमा छन्। प्रधानमन्त्रीमात्रै नभएर गृहमन्त्री बिमलेन्द्र निधीपनि सिलवालको पक्षमा दृढ भएर उभिएका छन्।
सत्तारुढ दल काँग्रेसभित्रै सभापति देउवा र हालका गृहमन्त्री निधिवीच कसलाई आईजीपी बनाउने भन्नेबारे विवाद उत्कर्षमा पुगेको छ। आज अपरान्ह बस्ने मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीले मुख्यसचिव डा. सोमलाल सुवेदीमार्फत स्थगित भएको मन्त्रीहरुलाई जनकारी गराएका छन्।
यही फागुन ३ गतेबाट आइजीपी उपेन्द्रकान्त अर्यालले अवकाश पाउँदैछन्। डिआईजी सिलवालाई नै आईजीपी बनाउनेबारे गृहमन्त्री निधी र प्रधानमन्त्री दाहाल एकमत छन्। तर काँग्रेस सभापति देउवाको चन्दलाई नै बनाउनुपर्छ भन्ने अडानका कारण प्रधानमन्त्री र गृहमन्त्री भने निर्णय गर्न सक्ने अवस्थामा छैनन्।
र, आईजीपीकै दौडमा रहेका वरियताक्रममा दोस्रो स्थानमा रहेका प्रकाश अर्याल र चौथोमा रहेका बमबहादुर भण्डारीले पनि आफ्नो पक्षमा लविङ् शूरु गरिसकेका छन्। देउवा र प्रधानमन्त्रीवीचको यो विवादका कारण भावी आईजीपी को बन्ने भन्ने खेल रोमाञ्चक बन्न पुगेको छ।