काठमाडौं। आइजीपी छनौट विवादले नेपाल प्रहरीमा तहल्का मच्चिएको छ । बरियताक्रमलाई ख्याल नगरी तेस्रो नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय भएपछि विपक्षी अदालतमा पुगेका छन् ।
आइतबार विहानै मन्त्रिपरिषदले चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको केही घण्टापछि सर्वोच्च अदालतले सरकारलाई निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ ।
त्यस्तै, एक नम्बर बरियतामा रहेका डिआइजी नवराज सिलवालले चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट दिएका छन् । उनले तेस्रो नम्बरका चन्दलाई नभई आफूलाई आइजीपी नियुक्त गरिनुपर्ने माग गरेका छन् ।
यसले गर्दा अब अर्को आदेश प्राप्त नहुँदासम्म नेपाल प्रहरीले आइजीपी पाउन केही दिन लाग्ने भएको छ ।
बर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालले आफू अवकास पाएर घर जाने तयारी गरिरहेकाले तेस्रो व्यक्तिलाई कार्यबाहकको जिम्मेवारी दिने तयारी गरेका छन् । उनले प्राविधिक तर्फका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई आइजीपीको जिम्मेवारी दिने तयारी गरेका छन् ।
चन्दलाई आइजीपी नियुक्त गर्ने निर्णय नगर्न अन्तरिम आदेश भएपछि अर्यालले तेस्रो व्यक्तिलाई कार्यबाहक दिने तयारी गरेका हुन् । उनको विदाईका कारण पनि उनी कार्याबाहक दिन बाध्य भएका हुन् ।