सप्तरी । एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको घटनामा मर्नेको संख्या मर्नेको संख्या ५ पुगेको छ । दर्जन घाइते छन् ।
अहिलेसम्म मृतकको संख्या पाँच पुगेको हो । चारजनाको सनाखत भएको छ भने एकजनाको सनाखत हुन बाँकी छ ।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले १८ वर्षीय सञ्जन मेहता, ३५ वर्षीय पिताम्बर मण्डल र २८ वर्षीय आनन्द साहको मृत्युको पुष्टि गरेका थिए । मेहताको घटनास्थलमै, मण्डल र शाहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी, भर्खरै विपी विज्ञान प्रतिष्ठानमै दिगम्बर यादवको पनि मृत्यु भएको हो । उनी पेशाले अभिवक्ता हुन । अर्का एकजनाको भने पुष्टि हुन बाँकी छ ।
यसरी भयो घटना
प्रमुख जिल्ला अधिकारी तिमल्सिनाका अनुसार अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरिएको आमसभालाई विथोल्न पुगेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना हुन पुगेको हो ।
सभा विथोल्न पुगेका मार्चाका कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्दै गर्दा एक्कासी मार्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा मोर्चाका छ जना कार्यकर्ता घाइते भएका छन् ।