लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
सप्तरी घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले मंगलबार लहानको मुख्य चोकमा रहेको एमाले सिरहा क्षेत्र नं. १ को क्षेत्रीय समिति र लहान नगर समितिको संयुक्त कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले पार्टी कार्यालयबाट कागजपत्र, फर्निचर लगायत सामान सडकमा निकालेर आगजनी गरेका छन् । आगजनीबाट कागजपत्र, फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैबीच मोर्चाले आज गरेको बन्दले यातायात, बजार, पसल, कलकारखाना, शैक्षिक संस्था बन्द छन् । मोर्चाका कार्यकर्ता भने चोक चोकमा प्रदर्शन गरिरहेका छन् ।
पूर्वपश्चिम राजमार्गसहित जिल्लास्थित सहायक मार्गमा यातायातका साधन बिहानैदेखि सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन् भन्ने सडक सुनसान देखिएका छन् । सप्तरी घटनाको विरोधमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि लहानसहितका स्थानमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
सप्तरी घटनालगत्तै मोर्चाका कार्यकर्ताले गए राति गोलबजारमा एउटा भारतीय ट्रकमा आगजनी गर्नाका साथै दुई दर्जन सवारी साधनमा तोडफोड गरेका थिए ।