प्रहरी चौकीका इन्चार्ज पन्नालालले गरे यस्तो खेलबाड ! ‘बालिका कुटपिट गर्ने चारजना यी हुन्’

समाचार

जनकपुरधाम,असार २२ – १३ वर्षीया बालिकालाई हातखुट्टा बाँधेर कुटपिट गरी यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका – १८ भोइलकी १३ वर्षीया काजल मण्डललाई हातखुट्टा बाँधेर कुटपिट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।4 jana

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जितेन्द्र मण्डल, १८ वर्षीय रितेश मण्डल र १८ वर्षीय रामहृदय पण्डित रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको बभनगामा उच्च माविमा कक्षा ८ मा अध्ययनरत छात्रा काजलसँग पढ्ने नितेश मण्डलको बहिनी छोटी कुमारी मण्डल टोलकै केटोसँग भागी गएको थाह पाएनि आफूहरुलाई खबर नगरेको भन्दै उनीहरुले हातखुट्टा बाँधेर मंगलबार कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न चारैजनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । काजललाई यातना दिइरहेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । पक्राउ परेका चारजनाले काजललाई घरबाट बोलाई गाउँकै एक सार्वजनिक दलानमा बिहान मंगलबार विहान ११ बजेसम्म बाँधेर राखेका थिए । सोमबारै सुजित मण्डलले उनीहरु भाग्ने योजना बनाउँदा समेत किन नभनेको भन्दै काजललाई घरमै पुगेर कुटपिट गरेका थिए ।

काजलले उनीहरु भागेको विषयमा आफूलाई केहि जानकारी नरहेको भनिरहँदा समेत कसैले पत्याएनन् । साँझ सम्म खबर नगरे राती आएर आमा छोरी दुबैलाई उठाएर लाने धम्की दिएपछि काजल र आमा भगवती लुकेर छिमेकीको घरमा राति बिताएका थिए ।

बिहान घर पुग्ने बित्तिकै ढुकेर बसिरहेका जितेन्द्र, रितेश र रामहृदय आमाछोरी दुबैलाई नियन्त्रणमा लिएर घण्टौ यातना दिएको काजलले बताएकी छिन् । दिउँसो ११ बजे खानाको लागि छोड्दै आधा घण्टा पछि फेरी हाजिर हुने शर्तमा खोलेपछि काजलले भाइ सन्तोषलाई जनकपुरको अधिकारकर्मीहरुलाई घटनाको जानकारी दिन पठाएकी थिइन् । सन्तोषले राष्ट्रीय मधेश समाजवादी पार्टीकी केन्द्रीय सदस्य मुन्नी दासलाई बताएपछि उनले जिल्ला प्रहरीमा खबर गरेकी थिइन ।

सन्तोषले दिदीलाई बाँधेर यातना दिइरहेको विषयमा नजिकको प्रहरी चौकी कपिलेश्वरमा खबर गर्दा चौकीका इन्चार्ज पन्नालाल साहले चासो देखाएका थिएनन् । पीडितलाई उद्धार नगरेर साहले उल्टै दिदीलाई कुटेको फोटो खिचेर ल्याउन भनेको सन्तोषले बताएका छन् ।