नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले देशलाई अघि बढ्ने बाटो खुलाउने बताउनुभएको छ ।
नेपाली काँग्रेस झापाले आज विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘जिल्लास्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै नेता पौडेलले निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । दलका नेतृत्वले जिम्मेवारी पूरा गरे तोकिएकै समयमा चुनाव हुने उहाँको भनाइ थियो ।
जनता चुनावले उत्साहित भएको चर्चा गर्दै नेता पौडेलले जनअपेक्षाप्रति राजनीतिक दल उत्तरदायी हुनुपर्ने बताउनुभयो । “उग्र र खोक्रो राष्ट्रवादका कुरा गरे निर्वाचनमा व्यवधान खडा हुन्छ,” उहाँले भन्नुभयो, “कोही कसैबाट निर्वाचन विरोधी गतिविधि हुनुहुँदैन ।”
मुलुकमा चुनावी चहलपहल आए पनि एमाले र मधेसवादी दलका कारण चुनाव हुने कुरामा शङ्का÷उपशङ्का गर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न सक्दैन,”– उहाँले भन्नुभयो, “एमालेको राष्ट्रवाद र मधेसवादी दलको मधेस प्रेरित सोच घातक छ ।” निर्वाचन गराउन मधेसी जनतालाई सम्झाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले काँग्रेसभित्र एकता नभएको र पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी नबुझेका कारण समस्या बढेको बताउनुभयो । देउवा धेरैपटक प्रधानमन्त्री भइसक्नुभएकाले त्यो अनुभव उहाँले पार्टीको एकतामा खर्चनु पर्ने उहाँको सुझाव थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले मुलुकको राजनीतिक नेतृत्व असक्षम भएकाले परिवर्तनमा जोड दिनुभयो । उहाँले कम्युनिष्ट पार्टी र तिनका नेतालाई व्यवहार बुझाउन आवश्यक भएको टिप्पणी गर्नुभयो ।
“बदला होइन, बद्लिएर काम गर्नुपर्छ,”– उहाँले भन्नुभयो, “मधेसमा मधेसी र पहाडी, पहाडमा मतवाली र तागाधारीको बीचमा विभाजन कोर्ने कुचेष्टा भइरहेको छ, यो आन्तरिक राष्ट्रियतालाई कमजोर बनाउने प्रपञ्च हो, मुलुक नरहे, पहिचान र अस्तित्वको कुरा व्यर्थ हुन्छ ।” नेता पौडेल र गुरुङ इलाममा हुन लागेको कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएको हो ।