प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनेछन् ।
प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लागेको मन्त्री महतले बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए ।
सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवं विस्तार गर्ने विषयमा विचार–विमर्श गर्नेछन् ।
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध : समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताकारुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै उक्त विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन् ।
भ्रमणकाक्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमन्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ ।
त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने मन्त्री महतले जानकारी दिए ।
भ्रमणकाक्रममा कुनै सन्धि, सम्झौता र समझदारीपत्रमा हस्ताक्षर नहुने जानकारी दिँदै उनले पारस्परिक सम्बन्ध र सहायतामा नेपालले महत्वपूर्ण विषयमा आफ्नो तयारी पूरा गरेको र निकट भविष्यमा ती विषयमा चीनसँग सहमति भइ हस्ताक्षर हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए ।