सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै सरकारले आफूभन्दा वरियतामा पछि रहेका प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै डिआईजी नवराज सिलवाल अदालत जाने भएका छन् ।
यसअघि जयबहादुर चन्दलाई महानिरीक्षक बढुवा गरिएको विरुद्ध उनी अदालत गएका थिए । सिलवाल र अधिवक्ता कपिलदेव ढकालले दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाई गर्दै सर्वोच्चले चन्द बढुवाको निर्णय खारेज गर्दै कार्यक्षमता र ज्येष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको थियो । सर्वोच्चले कार्यसम्पादन र ज्येष्ठतामा सिलवाल नै पहिलो नम्बरमा रहेको समेत स्पष्ट गरेको थियो ।
यद्यपि मन्त्रिपरिषदले फर्जी कार्यसम्पादन मूल्यांकन तयार पारेर अर्याललाई महानिरीक्षक बनाएको दाबी गर्दै सिलवाल अदालत जाने तयारी गरेका हुन् । कानुनका विद्यार्थी समेत रहेका सिलवाल आफैंले मुद्धा तयार पारिसकेका छन् । मंगलबार अदालत खुल्ने बित्तिकै उनले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्दै माग दाबीसहित अदालतको फैसला अवज्ञा गर्ने प्रधानमन्त्री, मन्त्रीहरु र मन्त्रिपरिषद कार्यालयविरुद्ध मानहानी मुद्धा दायर गर्दैछन् ।
मानहानी मुद्धामा प्रधानमन्त्री दोषी ठहर भए नैतिक रुपमा सरकार छाड्नुपर्ने आउने कानुनविदहरुको भनाइ छ । ‘प्रधानमन्त्रीविरुद्ध मानहानीको मुद्धा दर्ता गर्ने तयारी भएको छ’, सिलवालनिकट श्रोतले भन्यो, ‘सम्भवतः भोलि (मंगलबार) नै अदालतले फैसला दिन्छ र सरकार जान पनि सक्छ ।’
रिटमा सिलवालले यसअघि आफ्नो ४० र अर्यालको ३८ नम्बर रहेकामा मन्त्रिपरिषदले किर्ते गरी आफ्नो ३८ र अर्यालको ४० नम्बर बनाएको दाबी गर्ने भएका छन् ।