लुम्बिनीमा सन् २०१४ मा बाह्र लाख पर्यटक

समाचार

बुटवल, १८ पुस । बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धसँग सम्बन्धित पुरातात्विक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा सन् २०१४ मा उल्लेख्य वृद्धि भएको छ । लुम्बिनी विकास कोष सूचना शाखाका अनुसार बितेको वर्षमा लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ लाख ९३ हजार ८२८ जना रहेको छ ।

कोषका अनुसार सन् २०१२ मा लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या सात लाख ९५ हजार ८६० थियो भने सन् २०१३ मा यो सङ्ख्या बढेर आठ लाख ४९ हजार २७३ पुगेको थियो । यी दुवै वर्षभन्दा बितेको सन् २०१४ को अवधिमा लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा ४०.५७ प्रतिशतले बढेको कोषले देखाएको छ ।

यस अवधिमा लुम्बिनी भ्रमण गर्ने पर्यटक तीर्थालुको सङ्ख्यामध्ये आन्तरिक पर्यटकको सङ्ख्या सबैभन्दा बढी नौ लाख दुई हजार ६२१ रहेको छ । यस्तै भारतीय पर्यटको आगमन सङ्ख्या एक लाख ५४ हजार २१६ तथा तेस्रो मुलुकका पर्यटको सङ्ख्या एक लाख ३६ हजार ९९१ रहेको कोषले जनाएको छ ।

नेपालमा पछिल्लोपटक भएको राजनीतिक स्थायित्वको सङ्केत, विभिन्न सामाजिक तथा आमसञ्चारमाध्यमको प्रचार–प्रसार र १८औँ सार्क शिखर सम्मेलनजस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा आयोजना हुनुले लुम्बिनीमा पर्यटक आगमन बढेको बताइएको छ ।

विकास कोषका अनुसार सन् २०१४ मा सबैभन्दा धेरै श्रीलङ्काका तीर्थालु पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । सो अवधिमा श्रीलङ्काबाट ३७ हजार ६०० जना पर्यटक लुम्बिनी आएका छन् ।

यस्तै सन् २०१४ मा थाइल्याण्डका २४ हजार ७३३ जनाले लुम्बिनी भ्रमण गरेका छन् भने लुम्बिनी भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या २० हजार ७१८ रहेको छ । यस्तै बर्माबाट १८ हजार ७७७, दक्षिण कोरियाबाट आठ हजार ७९०, भियतनामका तीन हजार ६४९ जना र जापानका दुई हजार ५२७ जना पर्यटक यात्रुले भ्रमण गरेको विकास कोषको सूचना शाखाले जनाएको छ ।

लुम्बिनीमा पछिल्ला वर्षहरुमा भएको भौतिक पूर्वाधारको तीव्रत्तर विकास, लुम्बिनीको व्यापक महत्व बढ्दै जानु र लुम्बिनी आवागमनको बाटो सहज बन्दै जानुजस्ता महत्वपूर्ण कारणले लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि भएको कोषले जनाएको छ ।

स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक नेपाल आउने सीमा नाका रुपन्देहीको बेलहिया हो । यस नाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकको पहिलो गन्तव्य लुम्बिनी रहेको हुन्छ । यो नाकाबाट करिब ३० किलोमिटर दूरीमा लुम्बिनी पर्दछ । उक्त दूरी करिब ४५ मिनेटमा पार गरिन्छ । रासस

Post Comment