आफूहरुसँग सल्लाह नै नगरी सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको भन्दै तीव्र असन्तुष्टि जनाएको राप्रपाले सरकार भने नछाड्ने भएको छ ।
राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सोमबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटी सरकारलाई दिएको समर्थन कायमै राख्ने बचन दिएका हुन् । थापाले आइतबार भने कार्कीविरुद्धको महाअभियोग आपत्तिजनक, दुर्भाग्यपूर्ण तथा स्वतन्त्र न्यायलयमाथिको आक्रमण भन्दै सरकार छाड्ने चेतावनी दिएका थिए ।
उनले आफूले कुरा बुझ्न बाँकी रहेकाले हतासमा प्रतिक्रिया दिएको भन्दै प्रधानमन्त्रीलाई अप्ठेरोमा साथ दिने बचन दिएको बालुवाटार स्रोतले बतायो । ‘म तपाईंको साथमा रहनेछु’, थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राप्रपाले सरकार छाड्ने निर्णय गर्दैन ।’
थापाले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर त्यसैमार्फत सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय लिने र आफूसहित पार्टीका मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका थिए । तर, रातारात आश्चर्यजनक ढंगबाट थापाले यु–टर्न गरे ।