कुनैपनि हालतमा दोस्रो चरणको चुनाव गर्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः पछाडि हटेका छन् । दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्ने गरी भए पनि असार १४ मा बाँकी प्रदेशमा चुनाव गर्ने देउवाको प्रस्तावलाई राष्ट्रिय जनता पार्टी नेपालले अस्वीकार गरेको छ ।
सत्ता गठबन्धन र राजपा नेपालको बैठकमा प्रधानमन्त्री देउवाले असार १४ गतेको चुनाव प्रभावित हुने भएकाले २ नम्बर प्रदेशको चुनाव पछाडि सार्न प्रस्ताव गरेका थिए । जबाफमा राजपाका नेताहरुले चुनाव जे सुकै गरे पनि आफूहरुको माग पूरा हुनुपर्ने अडान राखेका थिए ।
उनीहरुले चुनावको मिति सारेर आफूहरुको माग पूरा गर्न चाहेको भए दुई नम्बर प्रदेशको ८ वटा जिल्ला मात्र नभई २५ वटै जिल्लाके चुनाव सार्नुपर्ने प्रस्ताव गरेका थिए ।
यसअघि शनिबारको बैठकमा राजपाका नेताहरु आफ्ना मागहरु पूरा हुने भए प्रदेश नम्बर २ र ५ मा पछि चुनाव गरे पनि आफुहरुलाई मान्य हुने तर्क गरिरहेका थिए । जसलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका थिए । तर, आइतबारको बैठकमा भने देउवा फेरिए । उनले २ नम्बर प्रदेशको चुनाव पछि गर्ने प्रस्ताव गरे । तर, राजपाका नेताहरुले मानेनन् । उनीहरुले चुनाव अघि संविधान संशोधन हुनुपर्ने र बाँकी ४१ वटै जिल्लाको पनि चुनाव सार्नुपर्ने प्रस्ताव गरे ।