वेलिङ्गटन, साउन ६ गते । बिगतका तीन दशकपछि अमेरिकी नौसेना न्युजिल्यान्डको जल क्षेत्रमा फर्किने भएका छन् । ३२ वर्ष अघि आणविक उत्पादन र भण्डारणका बिरुद्ध अमेरिका र न्युजिल्यान्डबीच खटपट पैदा भई आपसी सम्बन्धमा धाँजा फाटेपछि नौसेना फिर्तिको यो पहिलो चरण हो ।
अमेरिकी उपराष्ट्रपति जो वाइडेन र विदेशमन्त्री जोहन केरीले बिहीबार न्युजिल्यान्डको भ्रमण गर्ने निधो गरेलगत्तै अमेरिकी नौसेनाले पनि सो निर्णय गरेको जनाइएको छ । उपराष्ट्रपति स्तरमा सन् १९७० यता यो नै पहिलो पटक न्युजिल्यान्ड भ्रमण हुन गएको छ भने अमेरिकी उपराष्ट्रपति बाइडेन तथा बिदेशमन्त्री जोहन केरी एक दिने न्युजिल्यान्डको भ्रमणको सिलसिलामा बिहिबार अकल्यान्ड पुग्नु भएको छ ।
आगामी नोभेम्बर महिनामा अकल्याण्डमा आयोजना हुन गै रहेको न्यूजिल्याण्ड नौसेनाको ७५ औं स्थापना दिवस तथा समारोहमा भाग लिन अमेरिकी नौसेनाले पनि न्यूजिल्याण्डको निमन्त्रणा स्वीकार गरेको कुरा उहाँहरु दुबैजनाले सञ्चार माध्यमलाई बिहीबारै जानकारी दिनु भयो ।
सो समारोहमा नौसैनिक पानीजहाज, पनडुब्बी जस्ता जलयुद्ध पोत र अन्य सामुद्रिक युद्ध उपकरणहरुको पुनरावलोकन समेत हुने जनाइएको छ । यता, न्युजिल्यान्डको जलक्षेत्रमा अमेरिकी नौसेना फिर्तिको विरोध जनाउन स्थानीय शान्ति तथा मानव अधिकारकर्मी संस्था ग्रीनपिस न्यूजिल्याण्डका कार्यकारी निर्देशक रसेल नम्र्यानले भने तटियक्षेत्रमा धर्नाको कार्यक्रम गरिने बताएका छन् ।
“३२ वर्षसम्म हामी आफ्नै खुट्टाको भरमा उभियौं । अहिले आएर अमेरिकी सामरिक वा आणविक सहयोग किन चाहियो ?” रसेलको प्रश्न थियो । यस अघि सन् १९८० को शुरुवात मा उक्त संस्थाले अमेरिकी नौसेना न्यूजिल्याण्ड छोड जस्ता अभियान चलाएको थियो । त्यसको केही पछि न्यूजिल्याण्ड सरकारले अमेरिकी नौसेनालाई न्यूजिल्याण्डको सामुद्रिक क्षेत्रमा आणविकशक्तियुक्त जलपोत ल्याउन प्रतिबन्ध लगाएको थियो ।
जवाफमा अमेरिकी सरकारले न्यूजिल्याण्डलाई दिँदै आएको सुरक्षा तथा सामरिक सहयोगमा रोक लगाएको थियो । तर हालैका केहि बर्षमा दुइ देशबीच सैनिक सम्झौतामा परिमार्जन भएको छ । सो परिमार्जित सम्झौता वाशिङ्गटन एण्ड वेलिङ्गटन डिक्लेरेशन नामबाट परिचित छ ।