दोश्रो चरणको स्थानीय तह निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्र मोरङमा लफडा सुरु भएको छ ।
हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन स्थायी समिति सदस्य एवं सांसद शिवकुमार मण्डलमाथि दबाब परेको छ । एक पक्षका कार्यकर्ताले हारमा सबैभन्दा बढी मण्डल जिम्मेवार रहेको आरोप लगाउँदै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्न थालेका छन् । मोरङका सांसद समेत रहेका मण्डल निर्वाचन परिचालन समितिको संयोजक थिए ।
एक नेताका अनुसार पार्टीको जिल्ला कमिटीलाई निस्क्रिय गरेर निर्वाचन परिचालन कमिटीलाई सक्रिय र शक्तिशाली बनाउने निर्णय भएको थियो । तर, मण्डलले एकपटक पनि निर्वाचन परिचालन कमिटीको बैठक राखेनन् । निर्वाचनमा लज्जास्पद पराजय हुनुमा कार्यकर्ताको प्रभावकारी परिचालन र उम्मेदवारी मिलाउन नसक्ने मण्डलको असक्षमता प्रमुख कारक रहेको ती नेताले बताए । ‘निर्वाचन परिचालन कमिटीको बैठक एकपटक पनि बसेन’, ती नेताले भने, ‘मण्डलजीले नैतिकताका आधारमा पार्टी जिम्मेवारीबाट राजीनामा दिनुपर्छ ।’
मण्डलले उम्मेदवार तय गर्दा कमिटीलाई बाइपास गरेर जसलाई जहाँ मन लाग्यो त्यहीं उम्मेदवार बनाएको आरोप असन्तुष्ट पक्षको छ । मोरङमा विराटनगर महानगरपालिकासहित ८ गाउँपालिका र ८ गाउँपालिका गरी १७ वटा स्थानीय तह छन् । विराटनगरमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका छन् । तर, काँग्रेस उम्मेदवार गठबन्धनभन्दा धेरै मतले अगाडि छन् । यसअघि माओवादीले रंगेली नगरपालिका र अन्य तीन गाउँपालिकामा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएको थियो ।
यसैबीच पार्टी हारको मुख्य जिम्मेवार रहेको भन्दै मण्डललाई मन्त्री नबनाउन समेत नेतृत्वमाथि दबाब परेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मण्डललाई अबको मन्त्रिमण्डल विस्तारमा मन्त्री बनाउने तयारी छ । मोरङका नेता कार्यकर्ता भने पार्टी हराउने व्यक्तिलाई पुरस्कार स्वरुप मन्त्री दिन लागिएको भन्दै आक्रोशित रहेको एक नेताले बताए ।