अन्तर्घात गरेको भन्दै कांग्रेसका पूर्बमन्त्री कारवाहीमा परे (पत्रसहित)

अन्तर्घात गरेको भन्दै कांग्रेसका पूर्बमन्त्री कारवाहीमा परे (पत्रसहित)
समाचार

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्तर्घात गर्नेलाई समिति बनाएर कारवाही गर्ने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घोषणासँगै यो कार्यान्वयनमा आएको छ ।

चुनाव भएका धेरै नगर, गाउँ तथा वडामा अन्तरघात गर्नेहरु कारवाही परिसकेका छन् । यसैक्रममा कांग्रेस कैलालीले पनि अन्तर्घात गर्नेमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । जिल्ला कमिटी अन्तर्गतको गोदावरी नगर समितिले शुक्रबार मात्रै अन्तर्घात गरेको भन्दै केही नेता तथा कार्यकर्ताको नाम राखेर कारवाही सूची सार्वजनिक गर्यो । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका एक मन्त्रीको नाम पनि समावेश छ ।

गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले प्रचण्ड नेतृत्वको सरकारका वन राज्यमन्त्री एवं सांसद दीर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न भन्दै जिल्ला समितिलाई सिफारिस गरेको छ ।

कांग्रेस सांसद एवं पूर्वमन्त्री दीर्घराज भाट

कारवाही सूचीमा पूर्वमन्त्री भाटसहित, महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला समति सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरु रहेका छन् । उनीहरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न नगर समितिले सिफरिस गरेको हो ।

यसरी पूर्वमन्त्रीकै नाम कारवाहीको सूचीमा परेपछि अहिले कांग्रेस कैलालीमा खैलाबैला भएको छ । रोचक कुरा त के छ भने पूर्वमन्त्री भाट संस्थापन अर्थात देउवा समूहका नेता हुन् । अहिले कैलालीसहित अधिकांश ठाउँका कांग्रेस नेता कार्यकर्ता र स्थानीयले भाटमाथि कारवाही होला त भनेर प्रश्न उठाइरहेका छन् । यसले जिल्ला कमिटी नै अप्ठेरोमा परेको बताइन्छ ।

कैलालीमा कांग्रेसले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर जितेको छ । जिल्लामा भने मिश्रित नतिजा आएको छ ।

Post Comment