आचारसहिंता उल्लंघन गरेको भन्दै निधिलाई २४ घण्टे स्पष्टिकरण माग

आचारसहिंता उल्लंघन गरेको भन्दै निधिलाई २४ घण्टे स्पष्टिकरण माग
समाचार

दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लघंन गर्ने विभिन्न दलका नेतालाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।

धनुषामा चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित गम्छा लगाएर सहभागी भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

यस्तै, सिरहाको धनगढी नगरपालिकाको जिरोमाइल र धनुषाको मिथिला नगरपालिका लालगढमा भएको चुनावी सभामा बालबालिका प्रयोग भएको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सिरहाका कांग्रेस जिल्ला सभापति र धनुषाका कांग्रेस जिल्ला सभापति र माओवादी केन्द्रका जिल्ला इन्चार्जलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ  ।

यसैबीच, निर्वाचन आयोगले प्रमुख ७ दललाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न गराउन आग्रहसमेत गरेको छ । आयोगले बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन आग्रह गरेको हो ।

आयोगले चुनाव प्रचारप्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको, गाडी, मोटरसाइकल, रिक्सा र साइकलको र्‍यालीसहितको जुलस प्रदर्शन गरिएको, चुनाव चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदिको प्रयोग भएको साथै भित्ते लेखन भएको, बालबालिकाको प्रयोग भएको, सार्वजनिक ठाउँमा पोस्टर टाँस्ने र झण्डा लगाइएको भन्दै यस्ता काममा रोक लगाउन आग्रह गरेको हो ।

Post Comment