रेडक्रसद्वारा एक वर्षमा २५ हजार पिन्ट रगत वितरण

समाचार

भक्तपुर, १६ माघ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले २५ हजार पिन्ट रगत वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको बिहीबार भएको वार्षिक समीक्षा कार्यक्रममा रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले ‘रगत नपाए भक्तपुर जानु’ भन्ने अभियान कै कारण एक वर्षमा २५ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको जानकारी दिनुभयो ।

भक्तपुर रेडक्रसमा रगत लिन आउने जतिलाई रित्तो हात फर्काउनु नपरेको भन्दै उहाँले काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई समेत रगत वितरण गर्दै आएको बताउनुभयो ।

सभापति थापाले रेडक्रस भक्तपुरले विपद् पर्दा आवश्यक पर्ने सामान विभिन्न ठाउँमा राखेको, जिल्लाका ११७ विद्यालयमा विपद्मा परेकालाई कसरी सुरक्षित स्थानमा लैजाने, भूकम्प आउँदा कसरी जोगिने र प्राथमिक उपचार कसरी गर्ने भन्नेबारेमा तालिम दिएको जानकारी दिनुभयो ।

रेडक्रसले सडक दुर्घटना न्यूनीकरण र प्राथमिक उपचार अभियान सुरु गरेको जानकारी दिँदै उहाँले इमर्जेन्सी इक्विपमेन्ट भक्तपुर अस्पताललाई हस्तान्तरण गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलगायतले रेडक्रसले सामाजिक कार्यमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस

Post Comment