पोखरा, असोज ९ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ ।
केही व्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्नो उम्मेदवारीसमेत प्रस्तुत् गरेका छन् ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनलाई हेर्ने हो भने कास्की एमालेका लागि बलियो जिल्ला सावित भएको छ । एमालेको निकट प्रतिस्पर्धी नेपाली कांग्रेस हो भने माओवादी केन्द्रबाहेकका दलहरुको उपस्थिति कास्कीमा खासै छैन ।
अघिल्ला संविधानसभाको निर्वाचनमा भने कास्कीमा एमाले, कांग्रेस र माओवादी तीनै दल समान हैसियतका थिए ।
२०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पार्टी बनेको माओवादीका लागि २०७० संविधानसभाको दोस्रो निर्वाचन सम्झन लायक भएन । २०७० मा तत्कालीन ४ निर्वाचन क्षेत्रमध्ये कांग्रेस र एमालेले समान २/२ क्षेत्र जितेका थिए ।
तर, अहिले राज्य पुनःसंरचनापछि कास्कीमा तीनओटामात्रै निर्वाचन क्षेत्र कायम भएको छ । नयाँ संरचनामा तीनमध्ये दुईओटा क्षेत्र एमाले र एउटामा कांग्रेसको पकड देखिन्छ ।
क्षेत्र नम्बर–१ कांग्रेस र बाँकी दुई क्षेत्र एमालेले आफ्नो पक्षमा पार्ने अड्कलबाजी हुन थालेको छ । यद्यपि, चुनावी नतिजा अड्कल गरेजस्तै सहज पनि छैन । एक–अर्काले पकड ठानेका ठाउँहरु फरक क्षेत्रमा परेका छन् । यसले पनि नतिजामा केही प्रभाव पार्ने देखिन्छ ।
स्थानीय तह निर्वाचनमा २ लाख २५ हजार मतदाता रहेको कास्कीमा हाल २ लाख ५६ हजार मतदाता पुगेको छ ।
स्थानीय निर्वाचनमा बलियोसँग स्थापित हुन नसकेको कास्की कांग्रेस विगतका गल्ती सच्याएर संघ र प्रदेशमा आफ्नो उपस्थितिलाई बलियो पार्ने दाउमा छ ।
एमालेलाई विगतको साख जोगाइराख्ने चुनौती छ भने माओवादी कुनै न कुनै हिसाबले संघ र प्रदेशमा प्रवेश गर्न चाहन्छ ।
मुख्यमन्त्री हत्याउने दाउमा लागेका कांग्रेस, एमाले कास्कीलाई बहुत सम्भावनायुक्त क्षेत्र ठान्छन् । त्यसो त ४ नम्बर प्रदेशको सबैभन्दा बढी तीनओटा निर्वाचन क्षेत्र कास्कीमा छ ।
८४ स्थानीय तह रहेको ४ नम्बर प्रदेशमा ४४ ओटा तह कांग्रेसले जितेको छ भने ३४ तह एमाले, पाँचओटा माओवादी तथा एउटा तह जनमोर्चाको पोल्टामा पर्यो ।
पोखरा–लेखनाथ महानगरपालिकासहित ठूला स्थानीय तहहरुमा एमालेले जितेका कारण प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमाले स्थानीय निर्वाचनभन्दा अगाडि पुग्न सक्छ ।
जिल्लामा दर्ता भएका २३ ओटै दलले चुनावकेन्द्रित कार्यक्रम गर्न थालिसकेका छन् ।
कांग्रेसले प्रदेश र संघका उम्मेदवारहरु यही असोज १७ गतेभित्रै जिल्लाबाट टुंग्याएर केन्द्रमा सिफारिस गर्नेछ । त्यसका लागि जिल्ला र क्षेत्र तहमा निरन्तर बैठक चलिरहेको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
एमालेले पनि चुनावकेन्द्रित आन्तरिक छलफल गरिरहेको छ । केन्द्रबाट नीतिगत निर्णय नपाएकाले केन्द्रको निर्णयपछि चुनावी कार्यक्रम तय गर्ने कास्की अध्यक्ष कृष्ण थापा बताउँछन् ।
माओवादी केन्द्रले आगामी चुनावका लागि तयारी थालिसकेको छ । चुनावको तयारीका लागि माओवादी केन्द्रका नेताहरु अहिले गाउँगाउँ पसेका छन् ।
माओवादी केन्द्रबाट आफूले दाबी गरेको क्षेत्रमा नै सम्भावित उम्मेदवारले भेटघाट तीव्र पारेका माओवादीका कास्की इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।
मुख्य तीन दलबाट सांसदका लागि १५० बढी आकांक्षी
कास्कीमा मुख्य दलबाट सांसदका लागि दाबी गर्ने १५० जनाभन्दा बढी छन् । कांग्रेसबाट क्षेत्र नम्बर–१ मा यज्ञबहादुर थापा, महादेव गुरुङ र तारानाथ रानाभाटले दाबी गरेका छन् ।
केही सहज क्षेत्र भएकाले ३ नम्बर क्षेत्रका महादेव गुरुङले क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
बहालवाला मन्त्रीसमेत रहेका यज्ञबहादुर थापा र पूर्वसभामुख तथा कानुनमन्त्री तारानाथ रानाभाटले आफ्नो क्षेत्र भएकाले कास्की क्षेत्र नम्बर–१ मा आफ्नो उपस्थिति खोजेका छन् ।
समग्रमा १ नम्बर क्षेत्र कांग्रेसका लागि केही सहज छ । त्यसैले यो क्षेत्रमा उम्मेदवारीका लागि दाबी गर्ने पनि बढी नै छन् ।
कास्की क्षेत्र नम्बर–१ मा एमालेबाट पूर्वमन्त्री खगराज अधिकारी र श्रीनाथ बराल प्रमुख दाबेदार हुन् । तर, अधिकारी मुख्यमन्त्रीकासमेत दाबेदार भएकाले उनी प्रदेशबाट चुनाव लड्ने आंकलन पनि गरिएको छ ।
बरालचाहिँ आफूलाई केन्द्रमा प्रस्तुत् गर्न चाहन्छन् । खगराज प्रदेशको उम्मेदवार बने श्रीनाथ केन्द्रका लागि मुख्य दाबेदार हुन् ।
माओवादी केन्द्रबाट कास्की अध्यक्ष दीपक कोइराला, पूर्वमन्त्री देव गुरुङ, झलकपाणि तिवारी र शिव खनाललाई कास्की क्षेत्र नम्बर–१ मा सम्भावित उम्मेदवारकारुपमा हेरिएको छ ।
क्षेत्र नम्बर–२ मा भने कांग्रेसबाट खासै उम्मेदवारका आंकाक्षी देखिएका छैनन् । यद्यपि, शोभियतबहादुर अधिकारी, देवराज चालिसे र नरेशशंकर पालिखे र विष्णु वास्तोलाको नाम चर्चामा छ ।
२ नम्बर क्षेत्र एमालेका लागि बलियो क्षेत्र हो । सांसद रवीन्द्र अधिकारीको क्षेत्र भएकाले उनको दाबेदारी यसै क्षेत्रबाट छ । उनलाई प्रदेशमा उठाएर मुख्यमन्त्री बनउने विषयमा पनि एमालेभित्र छलफल भइरहेको छ ।
एमालेमा यो क्षेत्रबाट संघमा तुलबहादुर गुरुङ र कृष्ण थापाको पनि उत्तिकै चर्चामा छ । एमाले जिल्ला अध्यक्षसमेत भएकाले थापाले केन्द्रमा दाबी गरेका छन् ।
स्रोतकाअनुसार रवीन्द्र अधिकारीलाई ३ नम्बर क्षेत्रबाट उठाएर थापालाई क्षेत्र नम्बर–२ मा टिकट दिनका लागि पनि छलफल चलेको छ ।
माओवादीबाट पूर्वसांसद राजकाजी गुरुङसहित गंगा पोखरेल, गायत्री दुरा र विनय थापा पनि यो क्षेत्रका लागि सम्भावित उम्मेदवार हुन् ।
कास्कीको क्षेत्र नम्बर–३ मा कांग्रेसबाट सांसद शारदा पौडेल र शुक्रराज शर्माको नाम सुनिएको छ ।
एमालेबाट सांसद सीता गिरी वली, जगत विश्वकर्मा र जगन्नाथ बास्तोलाको नाम चर्चामा छ ।
माओवादीका रामजी वराल, रामराज रेग्मी, भीमबहादुर विक, अर्जुन छन्त्याल र पूर्वसांसद दुर्गा विक यो क्षेत्रमा मुख्य दाबेदार हुन् ।
प्रदेशतर्फ
प्रदेशतर्फ कांग्रेले १ नम्बर क्षेत्रको (क)मा सुदीपमोहन भट्टराई, कोपिला रानाभाट, गिरीराज गौतम, बुद्धिमान गुरुङ, राजेन्द्रमणि लामिछाने, चन्द्रावति पौडेल र तारा अधिकारीमध्ये एकलाई टिकट दिनसक्ने बुझिएको छ ।
एमालेले यो क्षेत्रमा टिकाराम पंगेनी, विजयबाबु वनबासी, मोहन गुरुङमध्ये कसैलाई प्रतिस्पर्धीकोरुपमा उतार्न सक्छ ।
माओवादीमा निर्मला सुवेदी, हरि लामिछाने, अर्जुन मल्ल र कृष्णकुमारी घिमिरे प्रमुख दाबेदार देखिएका छन् ।
१ नम्बर क्षेत्रको (ख)मा कांग्रेसका सभापति कृष्ण केसी, सरस्वती गुरुङ, किशोरदत्त बराल, गुरु बराल, बृजमान गुरुङ र नवीन सिग्देलले दाबी गरेका छन् । सभापतिसमेत रहेकाले केसी यो क्षेत्रको बलियो उम्मेदवार हुने स्रोत बताउँछ ।
एमालेबाट श्रीनाथ बराल, मनबहादुर गुरुङ र पदमप्रसाद पौडेल मुख्य दाबेदार हुन् ।
माओवादीबाट मित्र गुरुङ, मीन गुरुङ, विश्वप्रकाश लामिछाने, लालबहादुर गुरुङ, शरदचन्द्र बराल र कल्पना पाण्डे चर्चामा छन् ।
क्षेत्र नम्बर–२ तर्फ (क)मा कांग्रेसबाट ऋषि काफ्ले, विजय आचार्य, केशर निर्दोषीको नाम सुनिएको छ ।
एमालेले भने प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार यो क्षेत्रमा प्रस्तुत् गर्ने तयारी गरेको बुझिन्छ । मुख्यमन्त्रीका दाबेदार भए किरण गुरुङ वा पृथ्वीसुब्बा गुरुङमध्ये एकजना यो क्षेत्रमा उम्मेदवार बन्ने सम्भावना छ ।
रश्मी आचार्य, मुक्ती पौडेल, झवी रेग्मी, चेतबहादुर गुरुङ, सिर्जना शर्मा, झपट रानाभाट र तेजनारायण अधिकारी यो क्षेत्रमा एमालेबाट प्रमुख दाबेदार हुन् ।
माओवादीबाट रुद्र गौतम, गान्धी गुरुङ, कमला रानाभाट, बुद्धिमाया गुरुङ र ओम पौडेललाई सम्भावित उम्मेदवारकारुपमा हेरिएको छ ।
२ नम्बर क्षेत्रको (ख)मा कांग्रेसले माधव बास्तोला, निर्मल कर्माचार्य र वीरेन्द्रनारायण बिजुक्छेमध्ये कुनै एकलाई उम्मेदवार बनाउन सक्छ ।
एमालेबाट कृष्ण थापा, मदनकाजी श्रेष्ठ, प्रभा कोइराला, मीना गुरुङ, धनराज आचार्य र १६ नम्बर वडाकी अर्की मीना गुरुङको पनि मुख्य दाबी रहन सक्छ ।
माओवादीबाट यो क्षेत्रका लागि रामप्रसाद पौडेल, नवीन अधिकारी, विपीन आचार्य र ईमानबहादुर गुरुङको नाम बढी सुनिन्छ ।
क्षेत्र नम्बर–३ को प्रदेश क्षेत्र (क)मा लक्ष्मी पाण्डे, बाबुराम आचार्य, रामचन्द्र त्रिपाठी, सीता गुरुङलगायतका अनुहार कांग्रेसका सम्भावित उम्मेदवार हुन् ।
एमालेबाट यो क्षेत्रमा दलबहादुर गुरुङ, दीपक पौडेल, शोभाकर भण्डारी, कृष्णबहादुर नेपाली, लालबहादुर परियार, धर्मराज बास्तोला र गोपाल गिरी चर्चामा छन् ।
माओवादीबाट प्रविणा अधिकारी, मोहन दवाडी, भोजराज पौडेल, राजु तिमिल्सिना र नवराज भण्डारी उम्मेदवारको लाइनमा अगाडि देखिएका छन् ।
३ नम्बर क्षेत्रको (ख)मा कांग्रेसबाट खेमराज पौडेल, मनोज गुरुङ, देवेन्द्र शेरचन, गंगा केसी, दीपक गुरुङ, आईबहादुर गुरुङ, पोषनाथ शर्माको नाम चर्चामा छ ।
एमालेबाट राजीव पहारी, पुण्य पौडेल, लिलाधर पौडेल, देवका पहारी, मित्रकुमारी गुरुङ, हरि पौडेल र पदम पौडेलले प्रदेश सांसदका लागि दाबी गरेका छन् ।
माओवादीबाट अग्नि कँडेल, भेषराज पौडेल, गोमा ढकाल, धर्म गुरुङ, भूमि पराजुली र दुर्गा भण्डारी प्रमुख दाबेदार हुन् ।
यसबाहेक अरु राजनीतिक दलबाट पनि उम्मेदवारको चर्चा सुरु भएको छ । कास्कीमा राप्रपा, जनमोर्चा, माले, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, अखन्ड नेपाल पार्टीलगायतका पार्टी सक्रिय छन् ।
प्रदेशभित्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भए जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने भएपछि कास्कीबाहिरका वा जिल्लाभित्रै पनि उम्मेदवार यताउती हुन सक्छन् ।
केन्द्रका लागि पनि मतदाता नामावलीमा नाम भएको जुनसुकै ठाउँको नेपाली नागरिक उम्मेदवार बन्नसक्ने भएकाले यसमा पनि उम्मेदवार हेरफेर हुनसक्ने सम्भावना छ ।
कास्कीमा क्षेत्रगत मतदाता संख्या
क्षेत्र नम्बर–१ मा ९६ हजार ४७९ मतदाता छन् भने १ को ‘क’मा ५० हजार ५१६, क्षेत्र नम्बर–१ को ‘ख’मा ४५ हजार ९६३ मतदाता संख्या रहेको छ ।
क्षेत्र नम्बर–२ मा ७० हजार ९२६ मतदाता छन् भने २ को ‘क’मा ३७ हजार ८०९ र २ को ‘ख’मा ३३ हजार ११७ मतदाता छन् ।
क्षेत्र नम्बर–३ मा ८८ हजार ९९६ मतदाता छन् भने ३ को ‘क’मा ४६ हजार ३७४ र ३ को ‘ख’मा ४२ हजार ६२२ मतदाता छन् । कास्कीमा कुल २ लाख ५६ हजार ४०१ मतदाता रहेका छन् ।