मध्य अमेरिकी देशमा संकटकालको घोषणा,फ्लोरिडादेखि टेक्सससम्ममा सतर्क रहन आग्रह

मध्य अमेरिकी देशमा संकटकालको घोषणा,फ्लोरिडादेखि टेक्सससम्ममा सतर्क रहन आग्रह
समाचार

अमेरिका र मेक्सिकोतर्फ अघि बढिरहेको आँधी नेट ले हजारौँ घरहरुमा क्षति पुर्‍याइसकेको छ।

उक्त आँधी हाल अमेरिकाको उत्तरतर्फ लाग्दै छ।

मध्य अमेरिकी देशहरुमा संकटकालको घोषणा गरिएको छ।

आँधी नेटले भारी वर्षा, पहिरो र बाढी निम्ताएको छ जसकारण सडकहरु अवरुद्भ भएका छन्, पुलहरु भत्किका छन् र घरहरुमा क्षति पुगेको छ।

कोस्टा रिकामा झण्डै ४ लाख मानिसको घरमा पानीको आपूर्ति छैन र हजारौं मानिस आश्रयगृहरुमा सुतिरहेका छन्।

त्यहाँ कम्तीमा आठ जनाको मृत्यु भएको छ।

आँधी उत्तरतर्फ अघि बढेपछि छिमेकी देश निकरागुआ प्रवेश गरेको थियो र कम्तीमा ११ जनाको ज्यान लियो।अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले निकरागुआमा १५ ईन्चसम्मको वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ।

होन्डुरसमा दुई युवासहित तीनजनाको ज्यान गएको छ।

खोलामा डुबेका कारण ती युवाको मृत्यु भएको थियो भने अन्य कैयौं हराइरहेका छन्।

एल स्यालभाडोरमा पहिरोका कारण एकजना मानिसको मृत्यु भएको आपतकालीन सेवाले जनाएको छ।

साथै पूर्वसावधानी अपनाइदैँ पर्यटकहरु माझ लोकप्रिय रहेका एक दर्जनभन्दा धेरै राष्ट्रिय निकुञ्जहरु बन्द गरिएका छन्।

निकरागुआमा पनि आँधीले व्यापक क्षति पुर्‍याएको छ।

उप-राष्ट्रपति रोजारियो मुरिलोले मानिसहरुलाई भारी वर्षाको समयमा सतर्क रहन भनेका छन्।

मौसमविद्हरुले भनेका छन्- उक्त आँधी शक्तिशाली हुनेछ र आइतबार अमेरिकाको दक्षिणी तटमा प्रवेश गर्नुअघि ‘क्याटागोरी एक’ को आँधीमा परिणत हुनेछ ।

अमेरिकी राज्यहरु फ्लोरिडादेखि टेक्सससम्मका मानिसहरुलाई सतर्क रहन भनिएको छ।

आँधी नेट यदि ती राज्यहरुमा प्रवेश गरेमा यही वर्षमात्रै अमेरिकी तटीय क्षेत्रले तेस्रो ठूलो आँधीको सामना गर्नुपर्नेछ ।

टेक्सस र फ्लोरिडा राज्यहरु केही समयअघि आएका शक्तिशाली आँधीले पुर्‍याएको व्यापक क्षतिबाट तंग्रिदै छन्।

टेक्सस राज्यमा अगस्ट महिनामा आँधीले ‘असोचनीय क्षति’ पुर्‍याएको थियो।

त्यस्तै फ्लोरिडामा पनि गत महिना सेप्टेम्बरमा आँधी प्रवेश गरेको थियो।

फ्लोरिडाका २९ काउन्टीहरुमा र लुईजियानाको न्यू अर्लिन्समा संकटकाल घोषणा गरिएको छ ।

न्यू अर्लिन्सका मेयरले तल्लो तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान भनेका छन् ।

मेक्सिकोको खाडीमा संचालित तेल कम्पनीहरुले आँधी प्रवेश गर्ने पूर्वअनुमानित बाटोमा पर्ने क्षेत्रबाट आफ्ना कर्मचारीहरुलाई सारिरहेको बताएको छ ।

Post Comment