नेपाली नागरिक नवल यादवले सन् २०१७ को संयुक्त राष्ट्रसंघीय महासचिव अवार्ड प्राप्त गरेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघको सचिवालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रसंघका उपमहासचिव एमिना जे मोहम्मदले उनलाई सो अवार्ड प्रदान गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आफ्नो जिम्मेवारीभन्दा माथि उठेर योगदान पुर्यउने कर्मचारीलाई चार विधामा महासचिव अवार्ड प्रदान गर्ने गर्छ ।
महासचिवको सचिवालयले १२१ वटा मनोनयन प्राप्त गरेकोमा त्यसबाट प्रत्येक विधामा चार फाइनलिस्टहरुको छनोट गरेको थियो । यादवले ‘च्याम्पियन अफ द सस्टेनेबल डेभलपमेन्ट गोल्स विधामा परस्कार जितेका हुन् । नेपालमा सामुदायिक स्कुलहरुलाई सहयोग गरेकोमा यादवलाई सो पुरस्कार दिइएको बताइएको छ ।
महोत्तरी जिल्लाको तिमाकियामा जन्मेका यादव सन् २००३ को अप्रिलमा इन्टरनल अडिटरका रुपमा संयुक्त राष्ट्रसंघमा प्रवेश गरेका थिए । उनले १४ वर्ष नैरोबीको राष्ट्रसंघ कार्यालय, पूर्वी टिमोरको शान्ति मिसन, सुडानको शान्ति मिसन र न्यूयोर्कस्थित राष्ट्रसंघको प्रधान कार्यालयमा काम गरे । यादव एक चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले २५ वर्षसम्म नेपालको सरकारी कर्मचारीका रुपमा काम गरेका थिए ।
यादवले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको स्थानमा सामुदायिक स्कुलहरुलाई सहयोग गरिरहेका छन् । आफ्नै पैसाबाट उनले विद्यालयको पूर्वाधारमा खर्च गरेका हुन् ।