अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया भ्रमण सुरु

अमेरिकी राष्ट्रपति ट्रम्पको एसिया भ्रमण सुरु
समाचार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एसिया भ्रमण सुरु भएको छ । ११ दिन लामो यो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स पुग्नेछन् ।

पछिल्लो २५ वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले गर्न लागेको यो लामो एसिया भ्रमण हो ।

उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला सुरु भएको ट्रम्पको भ्रमणलाई निकै महत्वका साथ लिइएको छ ।

राष्ट्रपति ट्रम्पले भ्रमणको क्रममा उत्तर कोरियाको विषयमा अमेरिका, दक्षिण कोरिया र जापान एकताबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ ।

यस्तै उत्तर कोरियालाई सहयोग गर्दै आएको चीनलाई थप दबाब दिने पनि आंकलन गरिएको छ ।

ट्रम्पले यसअघि पनि चीनसँग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब दिन आग्रह गर्दै आएका छन् ।

भ्रमणको सुरुमा ट्रम्प अमेरिकी राज्य हवाइ पुगेका छन् । उनी त्यहाँ अमेरिकी प्यासिफिक कमाण्डको ब्रिफिङमा सहभागी भएका छन् । त्यहाँबाट उनी प्रथम महिला मिलानिया ट्रम्पसँगै जापान प्रस्थान गर्ने कार्यक्रम छ ।

उनी आइतबार जापान पुग्नेछन् । ट्रम्प जापान भ्रमण सकेर त्यहींबाट मंगलबार दक्षिण कोरिया जाने कार्यक्रम छ ।

दक्षिण कोरियाबाट ट्रम्प चीन जानेछन् । चीन बसाइका क्रममा ट्रम्पले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि भियतनाम जाने ट्रम्पले त्यहाँ एसिया–यासिफिक इकोनोमिक को–अपरेसनको सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । एसिया भ्रमणको अन्तिम गन्तव्य भने फिलिपिन्स हुनेछ ।

फिलिपिन्सको राजधानी मनिलामा हुने दक्षिण पूर्वी एसियाली देशको सम्मेलनलाई ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि सन् १९९१ मा अमेरिकी राष्ट्रपति जर्ज एचडब्लु बुसले एसियाली क्षेत्रको १२ दिने भ्रमण गर्नुभएको थियो ।

Post Comment