पोखरा, २० माघ । एचकेआर माइन्ज जर्मनीका तत्कालीन इन्टरनेसनल पार्टनरसीप प्रोजेक्टका प्रबन्धक रैनर कुवेरा र उहाँकी श्रीमती इनग्रीड कुवेराले कास्की जिल्लाभित्रका असहाय र गरिब विद्यार्थीका लागि कुबेर छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याउनभएको छ ।
यस कार्यक्रमअन्तर्गत उहाँहरूले सन् २०१५ का लागि जिल्लाको पुरुन्चौर गाविस लप्सी टाकुरास्थित हिमालय प्राविका १५ विद्यार्थीका लागि विद्यालय पोसाक र जुत्ताका लागि रु ४० हजार तथा सोही ठाउँमा आकुरा संस्थामा रहेका तीनजना एड्स सङ्क्रमित विद्यार्थीका लागि एक वर्षको विद्यालयको शुल्क र जुत्ताको लागि रु २५ हजारको सहयोग गर्नुभएको छ ।
यस्तै, पोखरा उपमहानगरपालिका–१७ दोविल्लास्थित सहारा एकेडेमीमा रहेका मुलुकभरका १२ जिल्लाका २३ विद्यार्थीका लागि रु ५५ हजार प्रदान गरिने कुमुदिनी होम्स उमाविका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।
कुवेरा छात्रवृत्ति पाँच वर्षसम्म रहने छ । हिमालयन प्राविका तीनजना शिक्षक शिक्षिकालाई पोखरा ल्याई मन्टेश्वरी शिक्षण विधिको तालिम पनि दिइने कार्यक्रम छ ।
उहाँहरूले सन् २०१२ मा हिमालयन प्रावि लप्सी टाकुरामा फर्निचरका लागि रु ५१ हजार ८३२, सन् २०१३ मा सोही विद्यालय भवनको पुनःनिर्माणका लागि रु एक लाख २६ हजार ८९५ र सन् २०१४ मा सो विद्यालयमा अध्ययनरत विद्यार्थी आवतजावत गर्ने बाटोमा पर्ने खोलामा पक्की ट्रस पुल निर्माण गर्न रु पाँच लाख पाँच हजार ११३ सहयोग गर्नुभएको थियो । रासस