महाशक्ति राष्ट्र अमेरिकाले आफ्नो ४५ औं राष्ट्रपति १०० दिनभन्दा कम समयमा पाउन गइरहेको छ । अमेरिकाको दुई मुख्य पार्टी, रिपब्लिकन पार्टी र डेमोक्र्याटिक पार्टीले आ- आफ्नो उम्मेदवार चुनिसकेको छ । डेमोक्र्याटिक पार्टीले हिलरी रोदम क्लिन्टनलाई चुनेको छ भने रिपब्लिकनले डोनाल्ड ट्रम्पलाई । करिब १ वर्ष अघिदेखि शुरु भएको अमेरिकी राष्ट्रपति चुनावको चहलपहलको रापले अमेरिकालाई पुरै लपटेको छ । यो चुनाव अमेरिकी राष्ट्रपतिको चुनाव कम, एक व्यक्तिको चुनाव जस्तै देखिएको छ । यो चुनावको मुख्य खेलाडी बनेका छन् डोनाल्ड ट्रम्प । यहाँ हिलरीले जित्ने कुराको खासैं चर्चा छैन । चर्चा छ त केवल ट्रम्पको । उनी जित्छन् या हार्छन् ? भन्ने नै यहाँको मिडियाको प्राथमिकतामा परेको छ ।
ट्रम्प पुरै हावी भएका छन् यस पटकको चुनावमा । किन यस्तो भयो त ?
उत्तर एकदम सरल छ । अहिले विकसित देशहरु जसलाई पहिलो विश्व भनिन्छ, त्यहां ‘HATE POLITICS’ अर्थात घृणाको राजनीतिले प्राथमिकता पाएको छ ।
बेलायतको ब्रेक्जिट
धेरै टाढा नजाऔं । गत जुन महिनामा बेलायतमा भएको निर्वाचनलाई हेरे पुग्छ । सबै विश्लेषक र पण्डितहरुले भने कि बेलायतले युरोपियन युनियन छोड्न हुन्न, यसले कालन्तरमा बेलायतलाई नै घाटा पुग्छ । प्रमुख मिडिया, शक्तिशाली राष्ट्रका प्रमुखहरुले पनि बेलायतलाई युरोप नछोड्न अपिल पनि गरे ।
तर, बेलायती जनतालाई ब्रेक्जिटका पक्षपातीहरुले यसरी कालो पट्टी बाँधिदिएका थिए कि बेलायत युरोपियन युनियनबाट निस्कन पर्छ भन्ने जनमत निस्कियो । युरोपियन युनियमा बसेर देशलाई घाटा भएको, युरोपियन युनियनमा बस्दा अझ बढी शरणार्थीहरुलाई ल्याउनुपर्ने बाध्यता हुने लगायत कुतर्क गरे उनीहरुले र बेलायती जनमत त्यतै ढल्कियो । फलस्वरुप प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिनुपर्यो ।
अहिलेसम्म कुनै पनि राजनीतिक पदमा नरहेका र राजनीतिको ‘र’ पनि नजानेका पात्र हुन डोनाल्ड ट्रम्प । उनी पेशाले व्यापारी हुन् । ट्रम्प धनी बाउका धनी छोरा हुन्, जसले आफ्ना थुप्रै कम्पनीहरुलाई टाट पल्टाए पनि आफु भने सधैं धनी बनिरहे ।
अझ रोचक कुरा त के भने ब्रेक्जिटका पक्षपाति प्रमुख नेता बोरिस जोन्सनले उनको एजेण्डाको जित भएपनि नयाँ बन्न लागेको सरकारको प्रमुखमा दाबेदारिता पेश गर्न सकेनन् किनकी उनलाई ज्ञान थियो कि अब बाचा पुरा गर्ने बेला भयो, जुन असम्भव थियो । उनले सजिलो बाटो रोजे । नयाँ प्रधानमन्त्री थेरेसा मेको सरकारको विदेशमन्त्री बने । बेलायत जस्तो सम्पन्न देशमा घृणाको राजनीति सफल भयो ।
ट्रम्प कार्ड
अहिलेसम्म कुनै पनि राजनीतिक पदमा नरहेका र राजनीतिको łर’ पनि नजानेका पात्र हुन डोनाल्ड ट्रम्प । उनी पेशाले व्यापारी हुन् । ट्रम्प धनी बाउका धनी छोरा हुन्, जसले आफ्ना थुप्रै कम्पनीहरुलाई टाट पल्टाए पनि आफु भने सधैं धनी बनिरहे ।
ट्रम्प यति धेरै चर्चामा आउनुको पछाडीको कारण हो अमेरिकामा व्याप्त रंगभेदी व्यवहार । अमेरिकाले आफुलाई जति नै प्रजातान्त्रिक र सबैलाई समान अवसर प्रदान गर्ने र आप्रवासीलाई खुला हृदयले स्वागत गर्ने भनेर मुखबाट भने पनि, त्यो मनबाट हुन नसकेको धेरैको अनुभव छ ।
यस देशमा लामो समय बसेका र यहि दुई तीन पुस्ता बिताइसकेकाहरु अझै पनि यहाँ असहज महशुश गरिरहेका हुन्छन् ।
अंग्रेजीमा भनिन्छ । White Supremacy अर्थात श्वेत आधिपत्य चाहन्छन् केहि अमेरिकीहरु यहाँ । ती कट्टर गोरा छालाधारीहरु, आप्रवासी उनीहरुको देशमा आएर उनीहरुको काम खोसेको भन्दै रिसाउँछन् ।
हरेक क्षेत्रमा अन्य समुदायका मानिसहरु अगाडी बढेको देखेर उनीहरुमा एक किसिमको असुरक्षा महशुश भएको छ । हाम्रो देशमा आएर हामीभन्दा अघि बढ्ने भनेर दाहृ्रा किटिरहेका हुन्छन् उनीहरु ।
यी सबै कुरा उनीहरुको मनमा सुशुप्त अवस्थामा रहिरहको थियो तर, उनीहरुले यो कुरा भन्न सकिरहेका थिएनन् किनभने यो देशमा त सबैजना समान छ र सबैलाई समान अवसर दिइएको छ भनेर पाठ जो पढाइएको छ ।
एक्कासी अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पको प्रवेश भयो । उनले त्यो सुशुप्त अवस्थामा रहेको ती अमेरिकीहरुको रंगभेदी व्यवहारलाई तरंगित गरिदिए र ज्यान भरिदिए ।
एक वर्षअघि जब ट्रम्पले रिपब्लिकन पार्टीबाट आफ्नो दाबेदारिता प्रस्तुत गरे, त्यहिबेला देखि नै उनले विष वमन गर्न थालेे । ट्रम्पले घृणाको राजनीति पहिलो भाषणबाट नै शुरु गर्न थाले र आश्चर्यजनक रुपले उनको त्यो विषलाई अमृत मानेर मानिसहरु पिउँदै गए र उनलाई आफ्नो भगवान मान्न थाले ।
यो पंक्तिकारले जब ट्रम्पको गत वर्ष जुन महिनामा पहिलो भाषण सुन्यो, तब लाग्यो कि १ दिनपछि ट्रम्प परिदृश्यबाट हराउँछ । यति धेरै रंगभेदी टिप्पणी गर्ने व्यक्तिलाई कसले समर्थन गर्छ र ? भन्ने मान्यता थियो यो पंक्तिकारको ।
त्यति नै खेर यो पंक्तिकारको श्रीमती जो राजनीतिमा खासै धेरै रुचि राख्दिनन्- चाहे त्यो नेपालको होस वा अमेरिकाको- उनले भनिन् – “यो ट्रम्प त निकै लोकपि्रय छ कि क्या हो, यो धेरै अगाडी बढ्ने छांट देखें मैले ।”
उनको त्यो भनाइप्रति व्यंग गर्दै मैले भनेको थिएँ- “तिमी राजनीति बुझ्दैनौं, ट्रम्प १ दिन पनि टिक्दैन ।” तर, कालान्तरमा राजनीति बुझेको घमण्ड गर्ने म गलत भएँ, राजनीतिमा खासै चासो राख्ने श्रीमतीले राजनीति राम्ररी बुझेको देखियो ।
के – के मात्र भनेनन् ट्रम्पले
ट्रम्पले भन्न बाँकी केहि पनि छैन । उनी महिला, मुसलमान, मेक्सिकन, काला जाति , अपांगता भएका व्यक्ति, पत्रकार लगायत सबै विरुद्ध विषवमन गरिरहेका छन् ।
१. मेक्सिकनहरु बलात्कारी, ड्रग्स बेच्नेहरु: यिनीहरुलाई अमेरिका छिर्नबाट रोक्न सीमामा ठुलो पर्खाल बनाउनुपर्छ ।”
उनको पहिलो भाषण, जसले उनका अनुयायीहरु आश्चर्यजनक रुपमा बढ्यो । कुनै देश र समुदायविरुद्ध यसरी सार्वजनिक रुपमा राष्ट्रपतिका लागि उभिन खोजेको व्यक्तिले यतिसम्म भन्न सक्छ भनेर शायदै कसैले सोचेको होलान् । तर, ट्रम्प आफ्नो मनमा जे छ, त्यहि मुखमा भन्ने व्यक्ति निस्किए, जुन स्वभावको प्रशंसा गरिरहेका छन् उनका भक्तहरुले ।
२. महिलाहरुलाई हेप्न: एक अन्र्तवार्तामा उनले आफुलाई प्रश्न सोध्ने महिला पत्रकार मेगन केलीप्रति एकदमै घृणित टिप्पणी गर्छन् । उनले भने -“तपाई देख्न सक्नुहुन्छ उनको आँखाबाट रगत आइरहको छ, मलाई थाहा छैन अरु कहाँ-कहाँबाट रगत आइरहेको होला ।”
एक वादविवाद कार्यक्रममा हिलरी क्लिन्टन बाथरुम गएकोबारे अभद्र टिप्पणी गर्दै उनले भने – “उनी त्यहाँ किन यति लामो समय बिताएको होला ।”
३. मुसलमान समुदायप्रति असहिष्णु: उनी मुसलमान समुदायलाई त अमेरिका छिर्नै दिनुहुन्न भन्छन् । मुसलमान र आतंककारी पर्यायवाची हुन् भन्ने आशय उनको सदैव हुन्छ ।
अझ एक मुसलमान आमालाई उनको दिवंगत छोराको सम्झनामा डेमोक्र्याटिक महाधिवेशनमा बोल्न नदिएको भनेर एकदमै अमानविय टिप्पणी गरेका थिए, जसको सर्वत्र विरोध भएको थियो ।
४. अपांगता भएका व्यक्तिहरुलाई उडाउने: उनले न्युयोर्क टाइम्सका एक पत्रकार-जसको एउटा हात लुलो छ-उनलाई सार्वजनिक कार्यक्रममै हात लुलो पार्दै उडाएका थिए ।
५. पत्रकारहरुप्रति अनुदारः ट्रम्पले धेरै पत्रकारहरुलाई पत्रकार सम्मेलनबाट निकालेका छन् । उनले धेरै पटक आफ्नाविरुद्ध लेखेको भन्दै वासिङटन पोस्टका पत्रकारहरुलाई आफ्नो पत्रकार सम्मेलनमा छिर्न दिएनन् ।
अवगुण बाबजुद अघि
यस्तै थुप्रै अवगुणहरु छन् जुन् ट्रम्पलाई राष्ट्रपति हुनबाट अयोग्य ठहर गर्छ । तर, उनी सबै विश्लेषणहरुलाई गलत साबित गर्दै अगाडी बढिरहेका छन् ।
ट्रम्पले ती अमेरिकीहरुको भावना बोले जो रंगभेदी छन्, जो महिलालाई इज्जत गर्दैनन्, जो अरु धर्म र विचारप्रति असहिष्णु छन्, जो आप्रवासीलाई गलत नजरले हेर्छन् ।
ट्रम्पको उदयले एउटा दरिलो झापड अमेरिकाले छरेको भ्रमलाई दिएको छ । त्यो के भने अमेरिकामा सबै समान छैन र यहाँ रंगभेदी व्यवहार हुन्छ भन्ने कुरालाई ट्रम्पको उदयले बल दिएको छ ।
मिडिया एकातिर माहौल अर्कोतिर
अमेरिकाको ठुला मिडिया प्रायः सबैले ट्रम्पविरुद्ध समाचार सम्प्रेषण गरिरहेका छन् तर, यसले ट्रम्पको “लोकप्रियता” घट्नुको साटो उल्टै उनको समर्थकहरुको संख्या बढेको बढ्यै छन् ।
लोकप्रिय वेभसाइट हफिङटन पोस्टले त ट्रम्पको हरेक समाचारको अन्त्यमा ट्रम्प झुटा, आप्रवासी मन नपराउने, रेसिस्ट, महिलाप्रति घृणा भाव राख्ने भनेर एडिटर नोट लेखिरहेको हुन्छ ।
ट्रम्पका समर्थकहरु ट्रम्पको समर्थन नगर्नेलाई कुटपिट समेत गरिरहेका हुन्छन् र ट्रम्प आफ्नो भाषणहरुमा यस्ता कुराको समर्थन पनि गरिरहेका छन् । घृणा उनको रौं रौंमा बसेको छ र यहि घृणाको बलमा उनी यहाँसम्म पुगेका छन् ।
आफ्ना पार्टीभित्रका नेताहरुले समेत उनलाई खुलेर समर्थन नगरिरहँदा पनि उनलाई यसले केहि फरक परेको देखिन्न किनभने उनको घृणाको राजनीतिको अन्धभक्तहरु बढेको बढ्यै छन् ।
अमेरिकी सेन्सस् ब्युरो अनुसार करिब ३२ करोड जनसंख्या भएको यो देशमा लगभग १५ करोडले भोट हाल्न पाउँछन् । ती १५ करोड अमेरिकीमा उनको ज्ब्त्भ् एइीक्ष्त्क्ष्ऋक् को प्रभाव यसरी नै बढ्दै जाने हो भने नोभेम्बर ८ तारिखको मतदान पश्चात अमेरिकाको चाबी एउटा यस्तो व्यक्तिको हातमा हुनेछ जो सिर्फ घृणालाई मात्र प्रश्रय दिन्छ ।
राजनीतिमा हरेक कुरा सम्भव छ । विकसित राष्ट्रमा राजनीति पनि विकसित हुन्छ भनेर विश्लेषण गर्नु गलत हुन पनि सक्छ । ट्रम्प सबैलाई चकित पार्दैं यहाँसम्म त आइसके । उनले यहि घृणाको राजनीतिलाई अझ अगाडी बढाउँदै लगिरहेका छन् । यो रफ्तारलाई उनले कायम राखे आश्चर्य नमाने हुन्छ डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बने ।