प्रधानमन्त्री प्रचण्ड भने: ९ महिनामै सरकार छोड्नुपर्ला भन्ने लागेकै थिएन ।

समाचार

prachanda

काठमाडौं, साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक देशका लागि पछिसम्म सम्झन योग्य काम गर्ने बताएका छन् ।  सोमबार सरकारी निवास बालुवाटारमा ढिकुरपोखरी–काठमाडौं समाजले गरेको सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने ‘अघिल्लोपटक ९ महिनामै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन ।

तर, यसपटक राष्ट्र र जनताले युगौंसम्म सम्झन लायक काम गर्नेछु ।’ प्रधानमन्त्रीले परिमार्जन सहित संविधानको कार्यान्वयन, तीन वटा निर्वाचन सम्पन्न गर्नु, पूनर्निर्माण, शान्ति प्रक्रियाको पूर्णता, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताए । प्रधानमन्त्रीले भने ‘देशले आर्थिक समृद्धिको खाका खोजेको छ ।

त्यसका लागि परिणाममूखी काम गर्ने पक्षमा छु ।’ प्रधानमन्त्रीले आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग गर्ने बताए ।

भेटमा समाजका प्रतिनिधिहरुले आगामी निर्वाचनमा कास्की क्षेत्र–४ बाट निर्वाचनमा उठ्न अपील गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।