अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयता रकम रोक्ने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरू वार्तामा आउनुपर्नेमा जोड दिए । उनीहरु शान्तिवार्तामा नआए शान्ति प्रयासका लागि गर्ने थप कामहरु आफ्नो प्रशासनले नगर्ने बताएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले यस्तो घोषणा दोस्रोपटक गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयले पनि प्यालेस्टिनीलाई विगतदेखि उपलब्ध गराउँदै आएको सबै सहायताकाबारेमा पुनर्विचार भइरहेको यसअघि नै बताएको थियो ।
राष्ट्रपति ट्रम्प विश्व आर्थिक मञ्चमा सहभागिताका लागि स्वीट्जरल्यान्डको डाभोसमा छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु उपस्थित सो मञ्चको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस्तो धारणा राखेका हुन् ।
तर, सो सहयोगमा के कटौती गर्ने र कहिलेसम्म कटौती गरिसक्ने भन्नेबारेमा भने अहिले नै अमेरिकाले कुनै निर्णय गरेको छैन ।
राष्ट्रपति ट्रम्पले गत डिसेम्बर ६ मा गरेको निर्णयमा जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएयता प्यालेस्टिनीहरु अमेरिकाको कुनै पनि वार्तामा सहभागी हुन अस्वीकार गरेका छन् ।
सो मुद्दाप्रति प्यालेस्टिनीको व्यापक मात्रामा विरोध रहिआएको थियो । उक्त मुद्दा संयुक्त राष्ट्रसंघमा नै पुगेपछि त्यसमा अमेरिकी निर्णय असफल भएको छ । रासस/एएफपी