लुम्बिनी (रूपन्देही), २५ माघ । सधैँजसो सीमा सुरक्षा कार्यालय रूपन्देहीले खटाएको ठाउँमा सीमा सुरक्षा गस्तीमा भेटिने सशस्त्र प्रहरीका सहायक निरीक्षक कृष्णप्रसाद खत्री आज बिहान भने हातमा कुचो लिएर नगर सरसफाइमा व्यस्त हुनुहुन्थ्यो ।
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर फोहरमैलाले कुरूप बनेपछि सिद्धार्थनगर नगरपालिकाले सुरु गरेको बृहत् सरसफाइ अभियानमा उहाँ निकै उत्साहका साथ नगरको सरसफाइमा जुट्नुभएको हो ।
उहाँजस्तै बिरामीको उपचारमा खटिने डाक्टर, शान्ति सुरक्षामा खटिने प्रहरी, आ–आफ्नो काममा खटिने सरकारी कर्मचारीदेखि विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सर्वसाधारणको हातमा कुचो र जनचेतनामूलक ब्यानर तथा प्लेकार्ड लिएर सरसफाइको महाअभियानमा जुटेका थिए ।
‘सभ्य नागरिक सफा सहर बुद्धको नगरी सिद्धार्थनगर’ भन्ने मूल नाराका साथ सुरु भएको बृहत् सरसफाइ कार्यक्रममा उनी जस्तै हजाराँै व्यक्ति सरसफाइ अभियानमा जुटेका थिए ।
बुद्धको नगरी सिद्धार्थनगरलाई बुद्धको मनजस्तो पवित्र र सुन्दर बनाउने उद्देश्यका साथ सुरु गरिएको सरसफाइ अभियानमा दलका जिम्मेवार नेतादेखि उच्च पदका निजामती कर्मचारी, प्रहरी, प्रशासक, डाक्टर, पत्रकार, वकिल, कलाकार, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र आमसर्वसाधारणको स्वतःपूmर्त सहभागिता देखिएको छ ।
फोहरमैलाका कारण सधैँभरि आलोचना खेप्दै आएको सिद्धार्थनगर नगरपालिकाले आलोचनाबाट मुक्त हुन र नगरलाई साँच्चिकै सुन्दर तथा हराभरा बनाउन सरसफाइ अभियान सुरु गरेको हो ।
विश्व शान्तिको मुहान लुम्बिनी आउने स्थलमार्गको प्रमुख नाका बेलहिया फोहरले कुरूप बनेपछि पर्यटकलाई निकै सास्ती हुनुका साथै विश्वमाझ निकै नराम्रो सन्देश प्रवाह भइरहेको थियो । नगरपालिकाले चलाएको यो अभियानमा भैरहवावासी निकै नै हौसिएका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमै फोहरमैलाले आमनगरवासी तथा पर्यटकलाई सताएपछि नगरपालिका नगरको सरसफाइका लागि जुटेको हो ।
लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको यो नगरपालिका स्थलमार्ग हँुदै सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरपालिकाका रूपमा रहेको छ । भैरहवा हुँदै लुम्बिनी भित्रिने पर्यटकलाई स्वच्छताको अनुभूति दिलाउन एवम् नगरवासीलाई सफा र सुन्दर नगरपालिकाका रूपमा विकसित गर्न यो कार्यक्रम ल्याइएको नगरपालिकाका कार्यकारी अधिकृत विष्णुदत्त गौतमले उल्लेख गर्नुभयो ।
नगरपालिकाले सुरु गरेको सरसफाइ अभियानलाई सघाउन शनिबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीसमेत हातमा कुचो लिएर भैरहवाको सडक सफा गर्दै हिँड्नुभयो ।
सुवेदीसँगै डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र श्रेष्ठ, मन्त्रालयका सहसचिव रामकृष्ण सापकोटासहित १६ वटा जिल्लाका जिल्ला प्राविधिक कार्यालयका प्राविधिक प्रमुखसमेत भैरहवा सरसफाइमा सरिक हुनुभएको नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले जानकारी दिनुभयो ।
नगरपालिकाले बृहत् सरसफाइ अभियानलाई पाँच दिनसम्म जारी राख्नेछ । भैरहवाको देवकोटा चोकदेखि सुरु भएको सरसफाइ कार्यक्रम बैंकरोड, मिलन चोक हुँदै होटल निर्माण स्थल, सीमा नाका बेलहिया दशगजा क्षेत्रदेखि भन्सार गेट हुँदै कोटइमाई मन्दिर, मेउडीहवा छोटी भन्सारदेखि झन्डी बजार हुँदै मेउडीहवा चोक र भैरहवाको मिलनचोकदेखि गल्लामण्डी हुँदै हनुमान मन्दिर र भैरहवाको बर्मेलीटोलदेखि नगरपालिका कार्यालयसम्म सरसफाइ गरिने छ ।
नगरपालिकाले सुरु गरेको अभियानले नगरलाई सुन्दर र सफा राख्न ठूलो योगदान पु¥याएको स्थानीयवासी रामकुमार शर्माले उल्लेख गर्नुभयो ।
नगरपालिकाले सुरु गरेको अभियानलाई निरन्तरता दिँदै जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो । “नगरपालिकाले सुरु गरेको सरसफाइ अभियानले नगरको मुहार फेरिएको छ,” उहाँले भन्नुभयो– “यसलाई प्रचारात्मकभन्दा पनि प्रभावकारी बनाउन नगरपालिकाले आगामी दिनमा अझै क्रियाशील भएर लाग्नु पर्दछ ।”
सरसफाइ कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्रालयका सचिव सुवेदीले नगर क्षेत्रको सरसफाइ सबै नगरवासीको घर आँगनको सरसफाइमा निर्भर रहने हुँदा आफ्नो घर आँगन, चोक, गल्ली, सडक र अन्य सार्वजनिकस्थल सफा सुग्घर राख्नुपर्ने बताउनुभयो ।
अन्य नगरको तुलनामा भैरहवा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगर रहेको हँुदा यसको स्वच्छतामा ध्यान पु¥याउन उहाँले विशेष अनुरोधसमेत गर्नुभयो ।
नगर क्षेत्रभित्रका विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको सहभागितामा सुरु भएको सरसफाइ कार्यक्रममा इन्डो नेपाल डाक्टर एसोसियसन, सामुदायिक प्रहरी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायलगायतको सहभागिता रहेको छ । रासस