पञ्चैबाजा बजाएर निगमको नयाँ एअरबसको स्वागत

समाचार

काठमाडौँ, २५ माघ । नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ ।

निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै करिब १० घण्टाको उडान पूरा गरी काठमाडौँ आइपुगेको हो । ‘सगरमाथा’ नाम दिइएको उक्त जहाज आज अपराह्न ४ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जहाज अवतरण गर्नासाथ नेपाली मौलिक पञ्चैबाजा, पण्डितहरूद्वारा स्वस्ती बाचन गरी स्वागत गरिएको थियो ।

Rss_Images_1423398700186_Pro_Ktm_Airport_Airbus agaman (5)

विमान विमानस्थलको ‘ह्याङ्गर’ अगाडि आइपुग्दा अन्तर्राष्ट्रिय प्रचलन अनुसार जहाज राख्ने स्थानमा पानीको फोहोराबाट आकर्षक ढङ्गले स्वागत गरिएको थियो । विमानका चालक तथा यसमा सवार विशिष्ठ पाहुनाको स्वागतका लागि झन्डै एक दर्जनभन्दा बढी विद्यालयबाट बालबालिकालाई स्वागत गीत र नृत्यका लागि विमानस्थल पु¥याइएको थियो ।

नक्सालस्थित बाल मन्दिरका पञ्चकन्यासमेत विमानको स्वागत र विशिष्ठ पाहुनाको अभिवादनका लागि मालासहित विमानस्थलमा पुगेका थिए । नयाँ विमान आगमनको हर्षोल्लास साटासाट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठसहितका उच्च अधिकारी, नेपाल उड्डयन प्राधिकरण र निगमका कर्मचारीहरूको विमानस्थलमा बाक्लो उपस्थिति थियो ।

विमानको फोटो खिच्न ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी फोटो पत्रकार एवम् सञ्चारकर्मी तँछाडमँछाड गर्दै विमानको फोटो कैद गर्दैथिए । त्यहाँको माहौल हेर्दा लाग्दथ्यो कुनै शक्तिशाली मुलुकका कुनै विशिष्ठ राष्ट्रप्रमुख वा सरकार प्रमुख नेपाल आउँदै थिए । त्यसो त सो जहाजमा विभागीय मन्त्री दीपकचन्द्र अमात्य स्वयम् यात्रुका रूपमा सवार हुनुहुन्थ्यो । एयरबसका चालक म्याथ्यु र सहायक चालकका रूपमा नेपाली चालक श्रवण रिजालले दोहाबाट काठमाडौँसम्मको उडान भर्नुभएको थियो । विमानलाई अवतरण गर्नासाथ महाप्रबन्धक मदन खरेलले पूजा अर्चना गर्नुका साथै पुष्पहारसमेत चढाइएको थियो ।

विमानमा दुई विदेशी, तीन नेपाली चालक रहनुका साथै पाँच जना परिचारिकासमेत गरी १८ जना सवार हुनुहुन्थ्यो । आगामी अप्रिलदेखि जहाज ‘सगरमाथा’ले अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान भर्ने जनाइएको छ । विमानस्थलमा विमानको अवतरणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निगमका महाप्रबन्धक खरेलले नेपाली हवाई उडानको क्षेत्रमा एउटा महत्वपूर्ण घटना र राष्ट्रको गौरवसँग जोडिएको विषय भएको टिप्पणी गर्नुभयो ।

मुलुकलाई संसारभरी चिनाउने वायुसेवा पनि हो भन्दै उहाँले सगरमाथाको आगमनसँगै नेपाली हवाई यातायात क्षेत्रमा निगमले विश्वसनियता कायम गरी आफ्नो अन्तर्राष्ट्रिय बजार हिस्सा लिने विश्वास व्यक्त गर्नुभयो । सो जहाजले कुल ५० घन्टा उडान गरेपछि उडानको सम्पूर्ण जिम्मेवारी नेपाली चालकहरूमा हस्तान्तरण हुनेछ ।

एयरबसको ए ३२०–२०० सिरिजको जहाज अन्तर्राष्ट्रिय उडानका लागि अत्यन्तै लोकप्रिय मानिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो । सो जहाजको खरिद मूल्य रु सात अर्ब पचास करोड रहेको महाप्रबन्धक खरेलले जानकारी दिनुभयो । निगमले अर्को सोही सिरिजको विमान आगामी अप्रिल महिनाभित्रै नेपाल भित्र््याउने तयारी गरेको छ ।

सो जहाजमा १५० सिट सामान्य र बाँकी रहेका आठ सिट व्यापारिक खालका रहेका छन् । सो जहाजले आगामी फागुन १४ गतेदेखि व्यावसायिक उडान गर्नेछ । निगमलाई जहाज किन्न कर्मचारी सञ्चय कोषले एकमुष्ट रु १० अर्ब ऋण दिएको थियो । कोषलाई जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ ।

हाल निगमले दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगन गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ । नयाँ जहाज आएपछि ती स्थानमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ ।

केही समय पहिले निगमले चीनमा निर्मित एम ए ६० र वाइ १२ मोडलका दुईवटा जहाज ल्याइसकेको छ ।

एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ । रासस

Nepal Airlines new Airbus A320 Arrives

Airbus A320 Arrives

Airbus A320 Arrives

Airbus A320 Lands

Rss_Images_1423399357632_Pro_Ktm_Airport_Airbus agaman (6)

Rss_Images_1423399112517_Pro_Ktm_Airport_Airbus agaman (2)

Rss_Images_1423399257995_Pro_Ktm_Airport_Airbus agaman (1)

तस्बिरः रासस

Post Comment