एफबीआइद्वारा रिपब्लिकन सांसदलाई चुनौती

एफबीआइद्वारा रिपब्लिकन सांसदलाई चुनौती
अमेरिका

संयुक्त राज्य अमेरिकाको संघीय अनुसन्धान निकाय एफबीआइले राष्ट्रपति डोनल्ड ट्रम्पप्रति पूर्वाग्रह झल्काउने भनिएको एउटा विवादास्पद टिपोट सार्वजनिक गर्न रिपब्लिकन सांसदहरूले गरेको मागबारे सार्वजनिक चुनौती दिएको छ।

एफबीआइले एउटा विज्ञप्तिमा भनेको छ, “टिपोटका कैयौँ तथ्यहरू हटाइएकोप्रति हामीलाई गम्भीर चासो छ जसले हाम्रो टिपोटको सत्यतामाथि आधारभूत रूपमा असर पार्छ।”

बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना वरिष्ठ सहयोगीले विरोधका बावजुद उक्त टिपोट ‘छिट्टै’ सार्वजनिक गरिने बताएका थिए।

डेमोक्र्याट्सहरूले उक्त टिपोट एफबीआइ नेतृत्वको रूसबारेको अनुसन्धानलाई प्रभावित गर्ने प्रयत्न भएको बताएका छन्।
बुधवार बिहान फक्स न्यूजसँगको एउटा अन्तर्वार्तामा ह्वाइट हाउसका ‘चीफ अफ स्टाफ’ जोन केलीले भने, “मेरो विचारमा त्यो टिपोट निकै छिटो सार्वजनिक गरिनेछ र सारा विश्वले त्यसलाई हेर्न सक्नेछ।”

त्यसको केही घण्टापछि एफबीआइले विरलै गर्ने एउटा विज्ञप्ति जारी गर्दै संसद्को गुप्तचर समितिले टिपोट सार्वजनिक गर्नका निम्ति गरेको मतदानअघि उक्त टिपोटको समीक्षा गर्न आफूसँग ‘सीमित अवसर’ भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “विदेशी गुप्तचर निगरानी ऐन (फिसा) को विश्वसनीयताको निरन्तरता सुनिश्चित गर्नका निम्ति हामी उपयुक्त पक्षहरूसँग काम गर्न प्रतिबद्ध छौँ।”
संसद्को गुप्तचर समितिका सभापति डेभिन नूनसले तयार पारेको चार पृष्ठको उक्त टिपोटमा न्याय मन्त्रालयले ट्रम्पको अभियान समूहका एक सदस्यलाई निशाना बनाउन फिसा भनिने गुप्तचर कार्यक्रमको दुरूपयोग गरेको दावी गरिएको छ।
उक्त टिपोटको समीक्षा गरेका सांसदहरूका अनुसार प्रमाणित नभएको ‘रूसी फाइल’ बुझाइएपछि एफबीआइले ट्रम्पको अभियान समूहका एक सहयोगीमाथि जासुसी गर्नका निम्ति अनुमति लिएको टिपोटबाट झल्किन्छ।

हिलरी क्लिन्टनको चुनावी अभियानको पनि आर्थिक सहायतामा पूर्व ब्रिटिश गुप्तचर एजेण्ट क्रिस्टोफर स्टीलले उक्त फाइल तयार पारेका थिए।

यसै हप्ताको शुरूतिर संसदीय समितिले उक्त टिपोट सार्वजनिक गर्नका लागि मतदान गरेको थियो।

तर त्यसलाई सार्वजनिक गर्ने वा नगर्नेबारे राष्ट्रपति ट्रम्पले यसै सप्ताहन्तभित्र निर्णय गर्नुपर्ने हुन्छ।

Post Comment