भारतमा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक गरिदै

भारतमा  ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक गरिदै
समाचार

लोपोन्मुखु भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह भारतको उडिसा जाँदैछन्।

यसअघि मिडियामा खबर नगरी थुप्रै पटक भारत भ्रमण गरिसकेका ज्ञानेन्द्र यस पटक भने प्रेस विज्ञप्ति नै जारी गरी भारत जान लागेका हुन्। दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्ञानेन्द्र भारतका लागि प्रस्थान गर्दैछन्। पूर्वराजा समर्थकहरुले विदाइका लागि विमानस्थलमा उपस्थित हुन सर्कुलर जारी गरिसकेका छन्।

बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई नेपालका राजाकै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

आयोजक श्रीमार्गका अनुसार त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्।

सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। श्रीमार्गका सदस्य समिर समालले हिजो आयोजित पत्रकार सम्मेलनमा भने, :हिज मेजेस्टी द रोयल किङ अफ नेपालको राज सम्वर्द्धनु सर्वसाधारण र गण्यमान्य व्यक्तिहरुले बुधबार गर्नेछन्।

ज्ञानेन्द्रले राजाहरुले मात्र गर्न पाउने गुह्य पूजा पनि त्यहाँ गर्ने कार्यक्रम रहेको छ।

उडिसा बिजु जनता दलको बहुमतको सरकार भएको भारतको एक राज्य हो। केन्द्रमा सरकार चलाइरहेको हिन्दुवादी भारतीय जनता पार्टीले त्यहाँ पछिल्लो सन् २०१४ को विधानसभा चुनावमा कूल १४७ सिटमा १० सिटमात्रै जितेर तेस्रो दल बनेको थियो। भारतीय राष्ट्रिय कांग्रेस १६ सिट जितेर त्यहाँ दोस्रो ठूलो दलका रुपमा रहेको छ।

हिन्दु धर्मावलम्बीहरुको एउटा प्रमुख तीर्थस्थल जगन्नाथ मन्दिर यही राज्यमा रहेको छ। नेपालका राजालाई जगन्नाथ मन्दिरमा पूजा गर्ने विशेष अधिकार रहेको मानिन्छ।

Post Comment