डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । उहाँ नेपालको इतिहासमा पहिलो मुख्यमन्त्री पनि बन्नुभएको छ । नेकपा एमाले र नेकपा माओवादीको वाम गठबन्धनले सरकार गठनको दावी गरे अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
पौडेलले सोमबार नै सपथ लिने र पदभार ग्रहण गर्नुहुने छ । एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मत अन्तरले हराउँदै पौडेल ३ नम्बर प्रदेशको एमाले संसदीय दलको नेता चयन हुनु भएको थियो ।
दुईपटक हेटाैडा उपमहानगरपालिकाको मेयर बन्नुभएका पौडेल प्रदेशसभा चुनावमा मकवानपुर १ को ख मा विजयी हुनुभयो । २०४९ सालदेखि २०५४ सा सम्म पहिलो पटक र २०५४ सालदेखि ५९ साल सम्म दुईपटक मेयर बन्नुभएको थियो । त्यतिबेलादेखि नै पहिलो नम्बरमा रहेर गरेका कामहरु हेटौंडामा अरुका लागि उदाहरणीय बनेका छन् । दुईपटक पौडेल मेयर बन्दा उपमेयर भने हालको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हुनुहुन्थ्यो ।
दुवै जनाको सहकार्यबाट नयाँ कामको सुरुवात पनि भएका थिए । अहिले प्रदेशको राजधानी हेटाैंडा बन्नु, त्यति बेलाको उपमेयर अहिले मेयर हुनु, पहिलेका मेयर यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि बाटो खुल्नु जस्ता कुराले पनि मकवानपुर रोचक बनेको छ ।
मकवानपुरले एक जना काम गर्ने नेतालाई मुख्यमन्त्रीका रुपमा पाउन लागेकोमा खुशी व्यक्त गर्दै मेयर महत भन्नुहुन्छ, ‘त्यति बेलादेखि हामी नजिकका साथी अब पनि राजधानी हेटौंडामा सहकार्य गरेर काम गर्नका लागि झनै सजिलो भएको छ ।’ मेयर बन्दा उहाँकै पालाबाट हेटाैंडा बजारलाई ग्रीन सिटीका रुपमा विकास गर्न सुरु गरिएको हो । हेटौंडाका मुख्य सडकको दायाँ बायाँ अहिले पनि रुखै रुखले हरियाली भएको छ । पौडेलको दुई पटकको योगदानले हेटौंडा सुन्दर, सफा र हरियाली शहरको रुपमा पनि घोषणा भएको छ । त्यति मात्रै होइन, हेटौंडाको सिको गर्दै इटहरी र बुटवल पनि हरित शहरको रुपमा नै विकास भएको छ ।
हेटाैंडाको विकास भनेपछि मरिमेट्ने स्वभावका पौडेलकै सुरुवातमा २०५१ सालमा स्थापना भएको हेटौंडाको सहिद स्मारकमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै भिडसमेत लाग्ने गरेको छ । त्यसैगरी सामुदायिक क्याम्पसको सभापति भएर पनि काम गर्नुभएको थियो ।
दुईपटक हेटौंडाको मेयर बन्न सक्नुभएका डोरमणि पौडेल स्थानीय तह पुनःसरचना आयोगका सदस्य भएर समेत काम गर्नुभएको छ । त्यतिबेला सक्रियताका साथ काम गर्दा अहिलेको स्थानीय तह यो स्थानसम्म आएको छ । स्थानीय सरकारलाई नै बलियो बनाउनुपर्छ भनेर पटक–पटक भन्दै आउनु भएका पौडेलले प्रदेश सरकारको मुख्य मन्त्री बनेर नयाँ तरिकाले काम गराउन अवसर पाउनुभएको छ ।
स्थानीय समुदायलाई नै सक्रिय गराएर विकास गर्न सकिन्छ भन्ने उद्देश्य बोक्नु भएका पौडेलले हेटौंडा उप महानगरपालिकामा मेयर बन्दा ६० प्रतिशत उप महानगरपालिकाले सहयोग गर्ने र ४० प्रतिशत बजेट जन समुदाय आफैँले हालेर सडक पिच गर्ने कामको हेटौंडाबाट सुरुवात गर्नुभएको थियो । उहाँको पत्रिका पसल पनि थियो । राजनीतिक किताब र पत्रपत्रिका पढ्न उहाँको किताब पसलमा घुइँचो लाग्ने गर्दथ्यो ।