अमेरिकाः राष्ट्रपति डोनल्ड ट्रम्प र सभामुखको पल रायनको आलोचना

अमेरिकाः राष्ट्रपति डोनल्ड ट्रम्प  र सभामुखको पल रायनको आलोचना
अमेरिका

अमेरिकी डेमोक्र्याट्सहरूले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनबारे छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सभामुख पल रायनको आलोचना गरेका छन्।

१७ जनाको ज्यान जाने गरी फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डको भोलिपल्ट उनीहरूले त्यस्तो आलोचना गरेका हुन्।

राष्ट्रपति ट्रम्पले विद्यालयहरूलाई सुरक्षित तुल्याउनु आफ्नो प्रशासनको मुख्य प्राथमिकता हुने बताएका छन्।

तर बन्दुक राख्न पाउनेसम्बन्धी कानूनको समीक्षा गर्नुपर्ने कंग्रेसको माग सम्बोधन गर्न उनी विफल भएका छन्।
केही विज्ञहरूले भनेका छन्, बन्दुक राख्न नदिएको भए फ्लोरिडा गोलीकाण्डका सन्दिग्ध निकोलस क्रुजले हमला गर्न सक्ने थिएनन् होला।

फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा १७ जना मारिएका थिए।
घटनामा कम्तीमा १४ जना घाइते भएको र कैयौँको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुझ्न पनि आफ्नो प्रशासन कटिबद्ध रहेको बताएका छन्।
यसअघि गोलीकाण्डका सन्दिग्ध निकोलस क्रुजमाथि १७ जनाको सुनियोजित हत्या गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।

रिपब्लिक अफ फ्लोरिडा भनेर चिनिने एउटा स्थानीय श्वेत राष्ट्रवादी लडाकु समूहका नेताले आफ्नो समूहका केही अर्थसैनिक अभ्यासमा क्रुजले सहभागिता जनाएको बताएका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पभन्दा फरक धारणा राख्दै अर्थमन्त्री स्टिभन मुनुशीनले गोलीकाण्ड दुखद भएको बताएका थिए।

तर पछि मुनुशीनको कार्यालयले बन्दुक राख्न पाउनेसम्बन्धी कानूनमा परिवर्तन ल्याउन उनले आग्रह गरेको भन्ने कुरा अस्वीकार गरेको थियो।

Post Comment