गत साता अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल भएका विद्यार्थीहरूले अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानून कडा बनाउन दवाब दिन वासिङ्टनमा र्यालीको निकाल्ने भएका छन्।
गत बुधबार विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुजले सामूहिक गोली प्रहार गर्दा ३ कर्मचारी र १४ विद्यार्थी गरी १७ जनाको ज्यान गएको थियो।
फ्लोरिडाको पार्कल्याण्डस्थित विद्यालयका विद्यार्थीहरूले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी भइरहेको बहसलाई एउटा निर्णायक विन्दुमा पुर्याउने योजना गरिरहेका छन्।
उनीहरूकै शब्दमा ‘आफ्नै जीवन रक्षाका लागि र्याली’ भनिएको उक्त र्याली राष्ट्रव्यापी रूपमा मार्च २४ तारिखका दिन वासिङ्टनमा गर्ने उनीहरूको योजना छ।
राजनीतिज्ञहरू जसले बन्दुक राख्न पाउने पक्षमा वकालत गर्नेहरूलाई बल दिन्छन् उनीहरूलाई लज्जित बनाउने आशय यो र्यालीको रहेको बताइएको छ।
हिजो फोर्ट लडरडेलस्थित र्यालीमा बोल्दै गत साताको घटनामा बाँच्न सफल एक छात्राले सामूहिक गोली प्रहारको घटना भएको आफ्नो विद्यालय नै अन्तिम ठाउँ हुने बताइन्।
त्यसयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त भाषणमा एम्मा गोन्सालेसले आफू र आफ्ना साथीहरू अमेरिकाको बन्दुकको स्वामित्वसम्बन्धी कानूनमा परिवर्तन ल्याउन प्रतिबद्ध भएको बताइन्।
बुधवार हमला गर्ने १९ वर्षीय निकोलस क्रुजले आक्रमणमा आफूले प्रयोग गरेको अर्ध स्वचालित राइफल कानुनी रूपमै किनेको स्वीकारेका छन्।
आफ्ना कक्षाका सहपाठीहरू गुमाएका एक जना १६ वर्षे किशोरले राष्ट्रपति ट्रम्पलाई क्रुर व्यक्तिको संज्ञा दिँदै उनले गोली प्रहारको सो घटनालाई अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईलाई आक्रमण गर्न जानाजन प्रयोग गरेको आरोप लगाए।
आफ्नो चुनावी अभियान र रूसबीचको साठगाँठको विषयमा एफबिआई व्यस्त रहेकाले उसले उक्त आक्रमण रोक्न नसकेको ट्रम्पले संकेत गरेका थिए।
यसैबीच ट्रम्पले परिचय नखुलाइएको विद्यार्थी समूहसँग भेटेर उनीहरूका कुरा सुन्न लागेको ह्वाइट हाउसले जनाएको छ।