ब्रिटेनमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकी सरकारले देश छाड्न आदेश दिएका दर्जनौँ रुसी कूटनीतिज्ञले वाशिङटन छाडेका छन्।
कूटनीतिज्ञ र उनीहरूका परिवारका सदस्यसहित करिब १७० जना दुईवटा विमानबाट मस्को जाने कार्यक्रम थियो।
रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाड्दै गर्दा सेन्ट पिटर्सबर्गस्थित अमेरिकी कन्सुलेट बन्द गर्ने रुसी सरकारको निर्देशनपछि त्यहाँबाट अमेरिकी झण्डा हटाइएको छ।
६० जना अमेरिकी कूटनीतिज्ञलाई रुसबाट निकाला गरिँदैछ।
शनिवार रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटिश राजदूतलाई बोलाएर ब्रिटेनमा आफूहरूको कूटनीतिक उपस्थिति घटाइए सरह ब्रिटिश उपस्थिति घटाउन भनेको थियो।
बीबीसी संवाददाता पल एड्म्स भन्छन्, व्यवहारमा त्यसको अर्थ के हो त्यो चाहिँ अहिले स्पष्ट भइसकेको छैन।
तर रुसी विदेश मन्त्रालयकी प्रवक्ता मरिया जखाराभाले समग्रमा ब्रिटेनले ५० जना कूटनीतिज्ञ कटौती गर्नुपर्ने बताएकी छन्।
यसको मतलब अझ कम्तीमा २७ जना ब्रिटिश कूटनीतिज्ञहरूले रुस छाड्नुपर्ने हुन्छ।
यसअघि एक हप्ता पहिले २३ जना ब्रिटिश कूटनीतिज्ञले रुस छाडिसकेका छन्।
तर अतिरिक्त कटौती अन्तर्गत ब्रिटेनले मस्कोस्थित स्थानीय कर्मचारीलाई हटाउने सम्भावना पनि हुनसक्छ।