अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा

अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग, तनाव बढ्ने खतरा
समाचार

सिरियाको विद्रोही नियन्त्रित डुमा शहरमा गरिएको रासायनिक आक्रमणबारे स्वतन्त्र छानविन गर्न अमेरिकाले गरेको मागविरुद्ध रुसले सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको छ ।

रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको पनि बताइएको छ ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्ताव न्यूनतम प्रतिक्रिया भएको उल्लेख गरिन् । डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत छन् ।

तर, राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले सिरियाविरुद्ध कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वासिंटटनलाई आग्रह गरेका छन् ।

यसैबीच, सिरियामा गरिएको रासायनिक आक्रमणबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संगठनको टोली सिरिया प्रस्थान गरेको छ । अर्गनाइजेशन अफ प्रोहिबिसन अफ केमिकल वेपन्सको टोली सिरिया गएको हो ।

उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा हालै भएको रासायनिक आक्रमणका बारेमा ठोस कदम चाल्न भन्दै लेटिन अमेरिकी मुलुकको भ्रमण नै रद्द गरेका छन् ।

पेरुमा हुन लागेको अमेरिकी मुलुकहरुको शिखर सम्मेलनमै नगई ट्रम्प वासिंगटनमै रहने भएका हुन् ।

सम्मेलनमा भने उपराष्ट्रपति माइक पेस सहभागी हुनेछन् ।

सिरियाका राष्ट्रपतिलाई जनावरको संज्ञा दिएका ट्रम्पले सिरियाको ज्यादती अब धेरै दिन नटिक्ने चेतावनी दिए ।

सिरियामा हालै भएको रासायनिक आक्रमणमा ७० जना मारिएका थिए । रुस र सिरियाले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

Post Comment