४० प्रतिशत अमेरिकी नागरिकसँग बन्दूक, २०१६ मा ३८ हजारको मृत्यु

४० प्रतिशत अमेरिकी नागरिकसँग बन्दूक, २०१६ मा ३८ हजारको  मृत्यु
अमेरिका

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पदमा रहुन्जेल अमेरिकी नागरिकको हतियार राख्ने अधिकारमा परिवर्तन नगर्ने बताएका छन् । संविधानमा नागरिकले हतियार राख्ने अधिकारलाई संरक्षण दिने अर्को संशोधनमाथि आफू रहुन्जेल संकट नआउने पनि उनले बताए ।

अमेरिकामा गोलीका कारण हुने मृत्युको संख्या अत्यधिक छ । एक सर्वेक्षणका अनुसार, ४० प्रतिशत अमेरिकी घरहरूमा वा नागरिकसँग बन्दूक छ ।

अमेरिकामा सन् २०१६ मा ३८ हजार मानिसको मृत्यु गोलीप्रहारबाट भयो । हालैका महिनामा भएका गोलीकाण्डपछि अमेरिकामा बन्दूकसँग जोडिएका कानूनमा परिवर्तनको माग उठेका छन् ।

ट्रम्पले यसै अवसरमा राष्ट्रिय राइफल संघ (एनआरए) को प्रशंसा गर्दै उनीहरू सच्चा देशभक्त भएको बताए । ट्रम्पले भने, ‘म तपाईंहरूप्रति आभारी छु । एनआरएका सच्चा अमेरिकी देशभक्तहरूले हाम्रा अधिकार, हाम्रो स्वतन्त्रता र महान् अमेरिकी झण्डाको रक्षा गरे ।’

गत फेब्रुअरी महिनामा फ्लोरिडाको पार्कल्यान्ड स्कूलमा भएको गोलीकाण्डका विषयमा ट्रम्पले टिप्पणी गर्दै भनेका थिए, ‘यस्तो हिंसाको समाधान भनेको शिक्षकहरूलाई प्रशिक्षित गरेर कक्षामा हतियार राख्न दिने अनुमति दिनुमा छ ।’

ट्रम्पले अमेरिकी बन्दूक लब्बीको कार्यक्रममा हजारौं मानिसको तालीको गडगडाहटसँगै भने, ‘यी शिक्षकहरू विद्यार्थीलाई माया गर्छन् । आफ्ना कुनै पनि विद्यार्थीलाई उनीहरू हानि पुग्न दिँदैनन् । त्यसैले उनीहरूलाई मौका दिनुपर्छ ।’

विद्यालयलाई गन फ्री जोज बनाउनु भनेको मानसिक रोगीलाई ‘आऊ र हामीलाई मार’ भनी दिइएको खुला निमन्त्रण भएको ट्रम्पले बताए ।

Post Comment