फेसबुकमा मोदीको बिरोध गर्नेलाई पक्राउ गरिने , २ सय जना प्रहरीको निशानामा

फेसबुकमा मोदीको बिरोध गर्नेलाई पक्राउ गरिने , २ सय जना प्रहरीको निशानामा
समाचार

नेपाल भ्रमणअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (शुक्रवार) विहान ९ बजे जनकपुर पुग्नेछन् । जनकपुरबाट भ्रमण शुरु गर्ने मोदी दिउँसो १ बजेतिर काठमाडौं उत्रिनेछन् ।

मोदीको नेपाल भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने गरी तयारी अगाडि बढाएको जनाएको छ । मोदीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा राज्यका ४ वटै सुरक्षा निकाय परिचालन हुनेछन् ।

मोदी जाने क्षेत्र जनकपुर, काठमाडौं र मुस्ताङमा भारतबाट आएको विशेष सुरक्षा दस्ताले पनि नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा सुरक्षा अवस्थाको विश्लेषण गरिरहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार मोदीको सुरक्षाका लागि भारतबाट आएको सुरक्षा टोली पहिलो घेरामा हुनेछ । दोस्रो घेरमा नेपाली सेना हुनेछ भने सशस्त्र र नेपाल प्रहरी तेस्रो घेरामा हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई बाहिरी अवस्थाको अध्ययनका लागि परिचालन गरिने छ ।

काठमाडौंमा १० हजार सुरक्षाकर्मी

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सबैभन्दा बढी समय काठमाडौंमा बिताउँनेछन् । मोदी काठमाडौंमा बस्दा सुरक्षा व्यवस्थापनका लागि १० हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

मोदीको सुरक्षाका लागि काठमाडौंमा सबैभन्दा बढी, ६ हजारको संख्यामा नेपाल प्रहरी, ३ हजार ३ सयको संख्यामा सशस्त्र प्रहरी र ७ सयको संख्यामा नेपाली सेना परिचालन हुनेछन् ।

यस्तै नेपाल प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुर समेत मोदीको सुरक्षाका लागि परिचालन गरिनेछ ।

मोदीको सवारी हुने सडकमा सेना र प्रहरीका कुकुरबाट निगरानी गरिने छ ।

उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच कडा   

प्रहरीले बिहीवार विहानैदेखि काठमाडौं उपत्यका भित्रिने नाकामा सुरक्षा जाँचमा कडाइ गरेको छ । उपत्यका भित्रिने सबै सवारीसाधनको इन्ट्रि र चेक–जाँच भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यका भित्रिने महत्त्वपूर्ण नाका नागढुङ्गा र काभ्रेको धुलिखेल तथा बनेपामा जनशक्ति थप गरेर चेकजाँच भइरहेको प्रहरीले जनाएको छ ।

राजधानीबाट २०० बढीलाई उठाइने !

मोदीको भ्रमणका क्रममा हुने संभावित विरोध तथा नाराजुलुस निस्तेज पार्न राजधानीबाट २०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।  प्रहरी स्रोतका अनुसार बिहीवार विहानदेखि नै मोदीको विरोधमा उत्रिएका केही व्यक्तिलाई नियन्त्रणमा लिन शुरु गरिसकिएको  छ ।

विहीवार अपराह्नसम्म करिब १ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र फेसबूकलगायतका सामाजिक सञ्जालमा मोदी भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिइने छ ।

‘बिहीवार विप्लवका केही कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ,’ महानगरीय प्रहरी स्रोतले लोकान्तरसँग भन्यो, ‘शुक्रवार विहानसम्म करिब २०० जनालाई नियन्त्रणमा लिने तयारी छ ।’
प्रहरीले फेसबूकलगायत सामाजिक सञ्चालमा मोदीको नेपाल भ्रमणको चर्को विरोध गर्ने व्यक्तिलाई समेत पक्राउ गर्ने तयारी गरेको छ ।

‘केही व्यक्ति सामाजिक सञ्जालमार्फत अराजकता फैलाउन उद्दत देखिएका छन् । त्यस्ता व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ,’ प्रहरीका अधिकारीले लोकान्तरसँग भने, ‘लागूऔषध प्रयोग गर्ने तथा पैंसा पाए जे पनि गर्ने नेचर भएका व्यक्तिलाई पनि नियन्त्रणमा लिइन्छ ।’

विप्पलवदेखि ‘ग्रेटर नेपाल’सम्म निगरानीमा

प्रहरीले मोदीको भ्रमणमा हुने संभावित घटनालाई रोक्न विप्लवका कार्यकर्तादेखि ग्रेटर नेपाल अभियानमा संलग्न व्यक्तिलाई निगरानीमा राखेको छ ।

‘कुनै व्यक्तिले कालो झण्डा देखाइदियो भने पनि भ्रमणमा नराम्रो सन्देश जान्छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘त्यसैले सामान्यभन्दा सामान्य पनि विरोधका कार्यक्रम नहोउन्, सौहार्दपूर्ण रुपमा भ्रमण सफल होस् भनेर विशेष निगरानी बढाइएको छ ।’

Post Comment