“गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो”: प्रधानमन्त्री

“गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो”: प्रधानमन्त्री
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पुर्‍याउनु पर्ने बताएका छन् ।

गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
गणतन्त्रलाई सरकारी दिवस जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “गणतन्त्र सरकारी दिवस होइन जन दिवस हो” प्रधानमन्त्री ओलीले भने “यो दिवश गाउँपालिकासम्म नै मनाइने व्यवस्था गर्नुपर्दछ ।”

लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।
प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस् भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताए ।

“विदा बसेर मात्र गणतन्त्र मनाइने होइन” प्रधानमन्त्री ओलीले भने “कार्यलय समय बाहिरको समयमा दिवस मनाऊँ । कार्यलय समयमा काम गरौं ।”

गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

“गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्” प्रधानमन्त्री ओलीले भने “त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ । ”

टुंडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवशको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

Post Comment