दक्षिण कोरियाको ब्वाइ ब्याण्ड बिटिएस अमेरिकाको एल्बम चार्टमा पहिलो नम्बरमा पुग्ने पहिलो कोरियाली कलाकार समूह बनेको छ । बिटिएसका के–पप सुपरस्टारहरु कोरियन वेभका हिस्सा हुन्।
विश्वव्यापी रुपमा बढ्दै गएको कोरियाली संगीत, नाटक र चलचित्रको लहललाई कोरियन वेभ भन्ने गरिन्छ । गीतसँगै निकै कलात्मक तरिकाले गरिएको कोरियोग्राफी गरिएको डान्स स्टाइलका कारण विश्वभर चर्चित बिटिएस दक्षिण कोरियामा सबैभन्दा बढी एल्बम बिक्री हुने ब्याण्ड हो ।
बिटिएसमा रहेका सात सदस्यको लुक्सका कारण पनि उनीहरुको चर्चा हुने गरेको छ । उनीहरुका फ्यान विश्वभर तीब्र गतिमा बढी रहेका छन् । बिटिएसका फ्यानले आफूहरुलाई आर्मीको रुपमा चिनाउने गरेका छन् ।
बिटिएसको नयाँ एल्बम, ‘लभ योरसेल्फ : टियर’ अमेरिकी बिलबोर्डको चार्टमा आइतबार पहिलो नम्बरमा पुगेको हो । बिलबोर्ड चार्टमा २०० म्युजिक एल्बमको चार्ट प्रस्तुत गरिन्छ । एल्बमको बिक्री, डाउनलोड तथा अनलाइनमा स्ट्रिम गरिएको आधारमा चार्ट बन्ने गरेको छ ।
बिटिएसको यो एल्बम मेको सुरुमा रिलिज भएको हो । यो एल्बमको पहिलो सिंगल फेक लभ लस भेगासमा भएको बिलबोर्ड म्युजिक अवार्डमा प्रिमियर गरिएको थियो । बिलबोर्डमा पछिल्लो १२ वर्षमा एक नम्बरमा पुग्ने यो पहिलो एल्बम हो ।