नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन् ।
चलिरहेको हर्नडन मेलामा ८० हजार देखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अवदेखि हरेक साल सो झांकी गरिने जानकारी आयोजकहरुले दिएका छन् ।
तीन वटा आयोजक स्थानीय संस्थाहरु आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताए ।
सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश प्राप्त भएको थियो ।
सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीहरुको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बठाइएको स्मरण गराए ।
प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवस्यक सहयोग गर्ने बताए ।